स्वास्थ्य

तनहुँमा ९९ जनामा डेङ्गु सङ्क्रमण

तनहुँमा केही दिनयता ९९ जनामा डेङ्गु पोजेटिभ देखिएको छ। चार सय चारजनाको स्वास्थ्य परीक्षण गरिएकामा उनीहरूमा  डेङ्गु पोजेटिभ देखिएको हो।

तीन सय पाँचजनामा भने नेगेटिभ देखिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए। डेङ्गु रोगका बिरामीको सङ्ख्या बढ्दै गएपछि सचेत बन्नुपर्ने देखिएको छ। अन्य रोगका तुलनामा डेङ्गुका बिरामी बढ्दै जाँदा अस्पतालमा शय्याको अभाव हुन थालेको छ।  

गत शनिबार मात्रै ११ जनामा डेङ्गु पोजेटिभ देखिएको दमौली अस्पतालका इमरजेन्सी कक्षका अहेव राजेश क्षेत्रीले जानकारी दिए। अस्पतालमा दैनिक दुई सयको हाराहारीमा स्वास्थ्य परीक्षणका लागि आउने बिरामीमध्ये एक सयदेखि एक सय पचास जनासम्म ज्वरोका बिरामी हुने गरेका छन्।  

डेङ्गु हुँदा मानिसमा उच्च ज्वरो आउने, ज्यान दुख्ने र बान्ता गर्ने लगायतका लक्षणहरु देखिन्छ। पन्ध्र शय्या क्षमताको अस्पतालमा ४० शय्यासम्म राखेर सेवा दिँदा पनि शय्या अपुग भएको उनले बताए। डेङ्गुबाट बच्नका लागि टोलटोलमा गएर अझै मानिसहरुमा सचेतना फैलाउनुपर्ने अवस्था देखिएको अस्पतालले जनाएको छ।  

प्रकाशित: २४ आश्विन २०७९ १६:४४ सोमबार

डेङ्गु