स्वास्थ्य

वडामा एउटा पनि स्वास्थ्य संस्था छैन,उपचार गर्न अर्को गाउँ जानुपर्ने

हुम्ला उत्तरी भेगमा रहेको नाम्खा गाउँपालिका वडा नं २ को लामाखोल्सी गाउँमा स्वास्थ्य संस्था नहुँदा यहाँका स्थानीयलाई उपचारमा समस्या भएको छ। वडा नं ३ लामाखोल्सी गाउँमा पहिलादेखि नै स्वास्थ्य संस्था नहुँदा गाउँमा बिरामी हुँदा उपचारमा थप समस्या हुने गरेको स्थानीयको गुनासो छ।  

छिमेकी सिमकोट गाउँपालिकाको वडा नं ८ को खोल्सी गाउँको स्वास्थ्यचौकीमा उपचारलाई जाने गरेको स्थानीय रिकजेन लामाले बताए। गाउँमा स्वास्थ्यचौकी स्थापना गरिदिन आग्रह गर्दा कुनै सुनुवाइ नभएको उनले गुनासो गरे। गाउँमा गर्भवती महिला सुत्केरी हुन झन समस्या भएको छ।  

यस्तै जटिल बिरामीको उपचारमा तत्काल समस्या हुने गरेको उनको भनाइ थियो। वडा नं ३ लामाखोल्सी गाउँमा ३१ घरधुरी रहेको छ। दिनहुँ बिरामी जाँच, श्वासप्रश्वास, झाडापखाला, सुरक्षित मातृत्व, परिवार नियोजनलगायतका स्वास्थ्य सेवा पाउनबाट लामाखोल्सीवासी बञ्चित रहेको लामाले बताए।रासस

प्रकाशित: ८ आश्विन २०७९ ०८:५६ शनिबार