स्वास्थ्य

वीरगन्जमा डेंगु र स्क्रब टाइफसका बिरामी ह्वात्तै बढे

फाइल तस्बिर

पर्साको वीरगञ्जमा डेंगु र स्क्रब टाइफसका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ। वीरगञ्जको नारायणी अस्पताल तथा निजी क्लीनिकमा दिनहुँ डेंगु र स्क्रब टाइफसका बिरामी उपचारका लागि आउन थालेका छन्।

नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा उदयनारायण सिंहका अनुसार सातायता दैनिक जसो बिरामी फेला पर्न थालेका छन्। खासगरी वीरगञ्ज बाहिरबाट आएका नागरिकमा बढीजसो डेंगु र स्क्रब टाइफसको लक्षण देखिएको उनले बताए। बिरामीको सङ्ख्या बढ्न थालेपछि चिकित्सकले सावधानी अपनाउन  सुझाव दिएका छन्।

हाल दैनिक रुपमा १५ देखि २० जनामा डेंगु र स्क्रब टाइफसका बिरामी अस्पताल भर्ना हुन थालेका चिकित्सकले बताएका छन्। बिरामीमा उच्च ज्वरो, टाउको दुख्ने, शरीर र मांसपेशी दुख्ने, शरीरका विभिन्न भागमा साना र ठूला रातो डाबर आउने जस्ता लक्ष्यण देखिने गरेको डा सिहले बताए।रासस

प्रकाशित: १६ भाद्र २०७९ ०५:०७ बिहीबार

वीरगन्जमा डेङ्गु