स्वास्थ्य

चितवनमा डेंगी र स्क्रब टाइफस संक्रमण बढ्दो

फाइल तस्बिर

चितवनमा डेंगी र स्क्रब टाइफसका बिरामी बढेका छन्। जिल्लामा एक महिनाको अवधिमा ७६ जनामा डेंगी र ३२ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको हो। साउनमा ९९९ जनाको रगत परीक्षण गर्दा ७६ जनामा डेंगी देखिएको हो। त्यस्तै २१७ जनाको रगत परीक्षण गर्दा ३२ जनामा स्क्रब टाइफस देखिएको हो।  

स्वास्थ्य कार्यालय चितवनका अनुसार भदौको तथ्यांक संकलन भइरहेको छ। भरतपुर अस्पताल, नारायणी सामुदायिक अस्पताल, पुरानो मेडिकल कलेज, चितवन मेडिकल कलेज, माडीस्थित बकुलहर अस्पतालमा रगत परीक्षण गर्दा डेंगी र स्क्रब टाइफसको संक्रमण देखिएको हो। भरतपुर अस्पतालमा डेंगी र स्क्रब टाइफसका बिरामीको संख्या बढ्दै गएको सूचना अधिकारी गोपाल पौडेल बताउँछन्। ‘अस्पतालमा ज्वरोका बिरामी बढी आउँछन्। परीक्षण गर्दा धेरैजसोमा डेंगी र स्क्रब टाइफस देखिएको छ,’ उनले भने।  

विशेषगरी चितवनमा जेठ, असार, साउन, भदौ र असोजमा डेंगी र स्क्रब टाइफसका बिरामी देखिने गरेका छन्। जिल्लामा आव २०७८/७९ मा ३०३ जनामा डेंगी र २८१ जनामा स्क्रब टाइफस संक्रमण देखिएको थियो। नेपालमै पहिलोपटक सन् २००४ मा चितवनमा डेंगी संक्रमित देखापरेको स्वास्थ्य कार्यालय चितवका सूचना अधिकारी राम केसीले बताए।  

चितवनमा सन् २००४ मा पुरानो मेडिकल कलेजमा उपचारत एक विदेशीमा डेंगी देखिएको थियो। त्यसपछि सन् २००६ मा चितवनलगायत तराईका जिल्लामा यो रोग देखिएको थियो। सन् २००९ मा चितवनमा ९ जनामा डेंगी देखियो। सन् २०१० मा देशभर ९०० जनामा डेंगी हुँदा चितवनका ७०० जनाजति थिए। सन् २०१६ मा चितवनमा ६८७ जनामा डेंगी पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनको तथ्यांकमा उल्लेख छ। सन् २०१९ मा चितवनमा ४ हजार ८०३ जनामा डेंगी भएको थियो। एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगी संक्रमण हुन्छ। डेंगी संक्रमणका सुरुवाती दिनमा शरीरभरि रातो डाबर आउने, एक सय डिग्रीभन्दा बढी ज्वरो आउने, मांसपेसी दुख्ने, गिजा र पिसाबमा रगत देखिनेजस्ता लक्षण देखापर्ने नारायणी सामुदायिक अस्पतालका फिजिसियन डा. किशोर गौतम बताउँछन्। अहिले अस्पतालमा डेंगीका बिरामी बढेको उनले बताए।  

त्यस्तै मुसामा हुने एक प्रकारको माइट भन्ने संक्रमित किर्नाको माध्यमबाट ओरियन्टिया सुुत्सुगामुसी भन्ने ब्याक्टेरियाको कारणले स्क्रब टाइफस हुने गौतमले बताए। ‘यो रोग वर्षाको समयमा देखिन्छ। उक्त किर्नाले टोकेको सामान्यतया ५ देखि २० दिनभित्र यो रोगको लक्षण देखिन थाल्छ,’ उनले भने, ‘यसमा विशेषगरी उच्च ज्वरो आउने, किर्नाले टोकेको ठाउँमा घाउ हुने, जन्डिस हुने, पेट दुख्ने लक्षण पनि देखिन्छन्।’ डेंगी सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी पाइन्छ। यसले सफा पानी जमेको स्थानमा फुल पार्छ। खासगरी वर्षाको पानी जम्ने टिनका डब्बा, रङका खाली डब्बा, थोत्रा टायर, अलकत्रा वा मट्टीतेलका खाली ड्रम, फुलदानी, गमला, पानीट्यांकी आदिमा एडिस जातको लामखुट्टेले फुल पार्छ। 

प्रकाशित: १६ भाद्र २०७९ ०१:२१ बिहीबार

डेंगी स्क्रब टाइफस