स्वास्थ्य

उपत्यकामा डेंगु प्रकोपः दुई महिनामा १७ सय बढी संक्रमित, बढी जोखिम ललितपुरमा, देशभर २८ सय संक्रमित

उपत्यकामा पानी जम्ने ठाउँ धेरै हुँदा संक्रमण फैलियो

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले दैनीक १ सय भन्दा बढी ज्वरो र डेंगुुसँग मिल्दोजुल्दो लक्षण भएका बिरामीहरु पुग्न गरेका छन्। बिरामीको चाप बढेपछि अस्पतालले अस्पताल परिसरमा नै दुई वटा डेंगु क्लिनीक सञ्चालनमा ल्याएको छ।

अस्पतालका सूचना अधिकारी नवराज गौतम अस्पतालमा एउटै बेडमा २ जना बिरामी राखेर उपचार गरिरहेको बताउँछन्। उनी भन्छन्, ‘अस्पतालमा डेंगुको लक्षण देखिएका बिरामी दैनिक १ सय भन्दा बढी आउने गरेका छन्। हामीले अस्पताल भर्ना गर्नुपर्ने मात्रलाई भर्ना गरेर अपचार गराइरहेका छौं। बाँकीलाई बाहिर क्लिनीकबाट नै जाँच गरेर घर पठाउने गरेका छौं।’

‘दैनिक ४० देखि ५० जना ज्वरो र डेंगुुसँग मिल्दो-जुल्दो लक्षण भएका बिरामीहरु अस्पताल आउने गरेका छन्। त्यसमध्ये ४ देखि ५ जना भर्ना हुने अवस्थाका बिरामी हुन्छन्। भर्ना भएका बिरामीहरुको अवस्था सामान्य नै छ त्यस्तो जटिल अवस्थाका बिरामीहरु छैनन्। भर्ना भएकाहरुमा २०/२५ देखि ४५/५० वर्ष उमेर समूहका व्यक्तिहरु धेरै छन्।’

अस्पतालमा ४ जना डेंगुको बिरामी अहिले आइसीयुमा छन् भने अन्य १८ जना जनरल वार्डमा उपचार गराइरहेका छन्। डेंगुको बिरामी यही संख्यामा बढ्दै गए अन्य उपचार सेवालाई स्थगित गर्दै डेंगुको मात्र उपचार गर्ने तयारी अस्पतालले गरिरहेको गौतमले बताए। यता वीर अस्पतालमा अहिले २४ जना डेंगुको बिरामी उपचार गराइरहेका छन्।

अस्पतालका उप निर्देशक डा.प्रज्वल श्रेष्ठले अहिले अस्पतालमा दैनिक ४० देखि ५० जना ज्वरो र डेंगुुसँग मिल्दोजुल्दो लक्षण भएका बिरामीहरु पुग्ने गर्दछन्। श्रेष्ठ भन्छन्, ‘दैनिक ४० देखि ५० जना ज्वरो र डेंगुुसँग मिल्दो-जुल्दो लक्षण भएका बिरामीहरु अस्पताल आउने गरेका छन्। त्यसमध्ये ४ देखि ५ जना भर्ना हुने अवस्थाका बिरामी हुन्छन्। भर्ना भएका बिरामीहरुको अवस्था सामान्य नै छ त्यस्तो जटिल अवस्थाका बिरामीहरु छैनन्। भर्ना भएकाहरुमा २०/२५ देखि ४५/५० वर्ष उमेर समूहका व्यक्तिहरु धेरै छन्।’

पछिल्लो समय उपत्यकासहित देशभर डेंगुको संक्रमण बढीरहेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत किटजन्य रोग शाखाका अनुसार करिब २ महिनामा १७ सय बढी डेंगुको बिरामी बढेका छन्। असार १५ मा ३ सय ६० रहेको डेंगु संक्रमणको संख्या मंगलबारसम्म १ हजार ७ सय ६७ पुगेको छ।

त्यस्तै डेंगुबाट सबैभन्दा बढी प्रभावित काठमाडौँ उपत्यका रहेको छ। उपत्यकामा मात्र १ हजार ५६ जना डेंगुको बिरामी रहेका छन्। डेंगु संक्रमण नियन्त्रणका लागि लामखुट्टेको लार्भा मार्ने अभियान सञ्चालन भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा.चुमनलाल दास बताउँछन्।

७२ जिल्लामा फैलियो संक्रमण, २८ सय बढी संक्रमित

बर्खायाम लागेसँगै डेंगुका बिरामी ह्वातै बढेका छन्। असार १५ अगाडिसम्म ३ सय ६० रहेको डेंगु संक्रमितको संख्या मंगलबारसम्म २ हजार ८ सय २७ पुगेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार ७२ वटा जिल्लामा डेंगु संक्रमण फैलिएको छ। त्यसमध्ये सबै भन्दा बढी ललितपुर जिल्लामा डेंगुको बिरामी रहेका छन्।

उनका अनुसार ललितपुरमा असार १५ सम्म ९९ रहेको डेंगुका बिरामी अहिले बढेर १ हजार ५६ पुगेको छ। त्यस्तै काठमाडौँमा असार १५ सम्म ३५ जना रहेका डेंगुको बिरामी अहिले बढेर ३ सय ३२ पुगेको छ भने भक्तपुरमा असार १५ सम्म ६ जना रहेको डेंगुको बिरामी अहिले बढेर ७२ पुगेको छ।

'काठमाडौँमा धेरै जति पानी टंकी खुल्ला हुनुको साथै फोहोर हुनु, निर्माणाधिन संरचनामा पानीहरु जम्नु, वर्कसपका टायरहरुमा पानी जम्नु, खाल्डाखुल्डी बढी हुनेले लामखुट्टेको लार्भाको बढी वृद्धि विकास भएको कारण डेंगु संक्रमण उपत्यकामा बढी फैलिरहेको छ।’

उपत्यका बाहिर रुपन्देही जिल्लामा ३ सय बढी डेंगुका बिरामी छन्। त्यस्तै अन्य जिल्लाहरुमा तेह्रथुममा ७७, धादिङ्गमा ७६ र सिन्धुलीमा ६१ डेंगुका बिरामी रहेका छन्। डा.दाहाल बर्खायाम लागेसँगै डेंगु फैलनु सामान्य रहेको तर यो वर्ष पानी पर्न चाडैदेखि सुरु भएका कारण डेंगु संक्रमण नी चाडै देखिएको बताउँछन्। त्यस्तै डेंगु नियन्त्रणका लागि स्थानीय तहसँग समन्वय गरेर कार्यक्रम गरिरहेको उनको भनाइ छ।

उपत्यकामा पानी जम्ने ठाउँ धेरै हुँदा संक्रमण फैलियो

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा.चुमनलाल दास उपत्यकामा पानी जम्ने ठाउँहरु धेरै हुदा डेंगु संक्रमण फैलिएको बताउँछन्। काठमाडौँ उपत्यकामा अव्यवस्थित र बिना मापदण्ड सञ्चालनमा रहेका वर्कसपका कारण लामखुट्टेलाई सर्भाइभ गर्न उचित वातावरण मिलेको उनको भनाइ छ।

दास भन्छन्, ‘काठमाडौँको वातावरण लामखुट्टे अनुकुल भइसकेको छ। बढ्दो शहरीकरणमा संरचना अव्यवस्थित हुनेले यस्ता रोगहरुलाई बढाएको छ। काठमाडौँमा धेरै जति पानी टंकी खुल्ला हुनुको साथै फोहोर हुनु, निर्माणाधिन संरचनामा पानीहरु जम्नु, वर्कसपका टायरहरुमा पानी जम्नु, खाल्डाखुल्डी बढी हुनेले लामखुट्टेको लार्भाको बढी वृद्धि विकास भएको कारण डेंगु संक्रमण उपत्यकामा बढी फैलिरहेको छ।’

डेंगु नियन्त्रणमा लामखुट्टेको लार्भा खोज र मार अभियान नै बढी प्रभावकारी रहेको कारण सोही अभियानलाई नै बढी चलाउनुपर्ने उनको भनाइ छ। पछिल्लो समय डेंगु नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरेर कार्यक्रमहरु गरिरहेको उनले बताए।

के हो डेंगु र यसका लक्षणहरु?

सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाका अनुसार डेंगु लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। विशेषगरी यो घाम उदाउने वा अस्ताउने बेलातिर एडिज जातीको लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ। संक्रमितमध्ये १० प्रतिशत व्यक्तिहरुमा डेंगुको लक्षणहरु देखिन्छ।

‘डेंगुबाट बच्न हामी एक जना लागेर हुँदैन सबै जना लाग्न आवश्यक छ। हामीले घरमा रोपेको फूलको गमलामा पानी जमेको छ भने त्यहाँ पनि लामखुट्टे आउँछ र डेंगु संक्रमण हुन सक्छ। त्यसैले हामीले घर वरिपरि सफा राख्नुपर्ने हुन्छ।’

डेंगु भएमा एक्कासी टाउको दुख्ने, उच्च ज्वरो आउने, मांसपेशी दुख्नुका साथै ढाडको जोर्नीहरू दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाक लाग्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, नाक, गिजाबाट रगत बग्ने आदि लक्षणहरू देखिने गर्दछ। बस्तोलाका अनुसार डेंगु भएको खण्डमा लगातार तीनदेखि १० दिनसम्म ज्वरो आउने गर्दछ।

कसरी बच्ने डेंगुबाट?

डा. बास्तोला डेंगु हुँदा ज्वरो आउने र धेरै ज्वरो आएमा पारासिटामोल खानुपर्ने बताउँछन्। त्यस्तै डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नु नै उपयुक्त विकल्प रहेको उनको भनाइ छ। बस्तोला भन्छन्, ‘डेंगुबाट बच्न हामी एक जना लागेर हुँदैन सबै जना लाग्न आवश्यक छ। हामीले घरमा रोपेको फूलको गमलामा पानी जमेको छ भने त्यहाँ पनि लामखुट्टे आउँछ र डेंगु संक्रमण हुन सक्छ। त्यसैले हामीले घर वरिपरि सफा राख्नुपर्ने हुन्छ।’

घर वरिपरि सफा राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने,पानी टयांकीमा लामखुट्टे बस्न नदिनका लागि ढाकेर राख्ने, सकेसम्म सुत्दा झुलको प्रयोग गर्ने, खेतबारीमा काम गर्दा सकेसम्म हातखुट्टा ढाक्ने लुगा लगाउने, लामो बुट लगाउने, सकेसम्म साझ घरबाट बाहिर ननिस्कने, लामखुट्टे आउन नदिन विभिन्न खालको औषधिहरुको प्रयोग गर्न सकिने बास्तोलाले बताए। त्यस्तै घरमा लामखुट्टे लाग्न नदिन झ्याल ढोकामा जाली लगाउन उनको सुझाव छ।

प्रकाशित: १५ भाद्र २०७९ १४:५७ बुधबार

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अस्पतालका सूचना अधिकारी नवराज गौतम