स्वास्थ्य

सरकारसँग छैन म्याद गुज्रिएका कोरोना खोपको तथ्यांक र विवरण

करिब ५ लाख डोज म्याद गुज्रेको अनुमान

फाइलतस्बिर

कोरोनाविरुद्वको खोप आउने क्रम जारी छ। खोप अभियान पनि सञ्चालन भइरहेको छ। तर सरकारसँग खेर गएका र म्याद गुज्रे खोपको यकिन तथ्याङक र विवरण छैन्। सरकारी अधिकारी अनुमानको भरमा करिब ५ लाख डोज खोपको म्याद गुज्रिएको हुनसक्ने अनुमान गर्छन्।

स्वास्थ्य विभाग, आपूर्ती व्यवस्थापन शाखासँग कति कोरोना खोप खेर गए साथै म्याद गुज्रे भन्ने एकिन तथ्यांक नै छैन्। शाखाका एक अधिकारी भन्छन्, ‘करिब ५ लाख डोज कोरोना खोपको म्याद गुज्रीयो होला तर एकिन तथ्यांक भने छैन्। हामीले खोप वितरण मात्र गरिरहेका छौं। त्यो खोप सकियो कि म्याद गुज्रीयो भन्ने तथ्यांक हामीसम्म आउँदैन।’

उनका अनुसार शाखाको खोप सफ्टवेयरमा खोप जिल्लाहरुमा पठाएको विवरण छ। तर खोप बाँकी बसेको, म्याद गुज्रेको र खेर गएको खोपको विवरण भने छैन। केहि विवरण भएपनि कहिलेसम्मको हो मिति छैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.समिरकुमार अधिकारी भने खोपको सबै तथ्यांकहरु आफूहरुले राखेको बताउँछन्। खोप ल्याउने क्रममा नै खोपको कति म्याद छ कति ढुवानी गर्न सक्छौं भन्ने आंकलन गरेर नै ल्याउने गरेको उनले बताए।  

अधिकारी भन्छन्, ‘खोपको सबै तथ्यांक हामीले राख्छौं, खोपमा फेरि करोडौं संख्यामा खोप लगाउँदा सय प्रतिशत नै खोप लगाउन सक्छौं भन्ने हुँदैन। त्यसमा न्यूनतम १० प्रतिशत खोप खेर नै गएको हुन्छ। त्यसमाथि कोराना खोप ५ वर्षदेखि माथिका सबै उमेर समूहलाई लगाउने हुँदा खोप ढूवानी गर्दा धेरै खोप खेर जाने सम्भावना बढी हुन्छ।’

उनका अनुसार एउटा भाडोमा १० जनालाई पुग्ने खोप आउने र लगाउने दश जना नपुग्दा एक जनालाई पनि त्यो भाडोबाट खोप लगाउनु पर्ने हुन्छ। यतिबेला खोप खेर जाने संभावना बढी हुन्छ। पछिल्लो समय खोप लगाउने व्यक्तिहरु कम आउदा धेरै खोप खेर गइरहेको अधिकारीले जानकारी दिए।

कोरोना खोप लगाउने व्यक्तिहरू नआउँदा खोप भण्डारणमा हुन सक्छ तर त्यसको जानकारी मन्त्रालयसम्म नआएको उनको भनाइ छ। मन्त्रालयसँग कोरोना खोप लगाएको तथ्यांक र वितरण गरेको तथ्यांक भएपनि अहिलेसम्म म्याद गुज्रेको तथ्यांक नआइसकेको अधिकारीले बताए।  

कोरोना खोप लगाउने व्यक्तिहरू नआउँदा खोप भण्डारणमा हुन सक्छ तर त्यसको जानकारी मन्त्रालयसम्म नआएको उनको भनाइ छ। मन्त्रालयसँग कोरोना खोप लगाएको तथ्यांक र वितरण गरेको तथ्यांक भएपनि अहिलेसम्म म्याद गुज्रेको तथ्यांक नआइसकेको अधिकारीले बताए।  

स्वास्थ्य मन्त्रालयका पूर्व कर्मचारी डा.तारानाथ गौतम मन्त्रालयले खोपको सबै विवरण राख्नुपर्ने बताउँछन्। गौतम भन्छन्, ‘कोरोना खोप वितरण गर्ने सुरुको समयमा म नै थिए। हामीले विवरण राखेका थियौं। पछिल्लो समय विवरण नआएको हुन सक्छ। तर स्वास्थ्य मन्त्रालयले चाहेमा त्यो तथ्यांक राख्न कुनै समस्या छैन।’

मन्त्रालयले खोप वितरण गरेको, खोप लगाएको विवरण राख्छ भने खोपको म्याद गुज्रेको विवरण पनि राख्नुपर्ने उनको भनाइ छ। सरकारले एक-एक डोजको नसके पनि ‘एक भाइल’को तथ्यांक भने राख्नुपर्ने गौतम बताउँछन्। त्यस्ता तथ्यांकले आगामी दिनहरुमा खोप अभियान सञ्चालन गर्न सघाउ पुर्‍याउने उनले बताए।

‘खोप आँफैमा बहुमूल्य कुरा हो। कोरोना खोपमा झन् विभिन्न संघसंस्थाहरुले सहयोग गरेका छन्। उनीहरुलाई पनि विवरण बुझाउन आवश्यक छ। अर्को महामारी भन्ने कुरा अहिले मात्र होइन पछि पनि आउन सक्छ। अहिलेको यस्ता तथ्यांकहरुले पछिका दिनहरुमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने कुराको योजना बनाउन सजिलो हुन्छ,’ उनले भने।

केही समय अगाडि कोरोनाविरुद्वको करिब २४ लाख डोज खोप नै गायब भएको भन्ने कुरा बाहिर आएको थियो। उक्त खोप छानबीन गर्न बनेको समितिले बुस्टर मात्रा लगाउनेबारे आधिकारिक निर्णय नै नभई मानिसहरूले लगाएको र केहीले पहिलो मात्रा भनी बुस्टर लगाएको लगायतका कमी कमजोरीहरू देखाएको थियो।

केही समय अगाडि कोरोनाविरुद्वको करिब २४ लाख डोज खोप नै गायब भएको भन्ने कुरा बाहिर आएको थियो। उक्त खोप छानबीन गर्न बनेको समितिले बुस्टर मात्रा लगाउनेबारे आधिकारिक निर्णय नै नभई मानिसहरूले लगाएको र केहीले पहिलो मात्रा भनी बुस्टर लगाएको लगायतका कमी कमजोरीहरू देखाएको थियो।

नेपालमा पहिलोपटक सन् २०२१ जनवरीमा कोरोनाविरुद्वको खोप ल्याइएको थियो। भारतले नेपाललाई अनुदानमा १० लाख कोभिसिल्ड खोप उपलब्ध गराएको थियो।  

पहिलो पटक खोप आएसँगै सरकारले प्राथमीकताको आधारमा खोप अभियान सञ्चालन गरेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म  ५ करोड ८८ लाख ९१ हजार ७ सय ७० डोज कोरोनाविरुद्को खोप आएको छ।  

त्यस्तै खोप अभियान सुरु भएदेखि अहिलेसम्म ४ करोड ९५ लाख ३९ हजार ६ सय २६ मात्रा खोप लगाइएको छ। त्यसमध्ये एक मात्रा २ करोड १५ लाख ८५ हजार ८ सय ९१ लगाइएको छ भने २ करोड ६ लाख १९ हजार १ सय ३० पूर्ण मात्रा लगाइएको छ। त्यसैगरी ७५ लाख ३४ हजार ५०५ अतिरिक्त मात्रा लगाइएको छ।

नेपालमा अहिलेसम्म कोभिशिल्ड, भेरोसेल, जोनसोन एण्ड जोनसोन, मोर्डना, पी फाइजर (१२ वर्षमाथिको लाई लगाउन मिल्ने) पी फाइजर (५ देखि ११ वर्षसम्मको लाई लगाउन मिल्ने) कोरोनाविरुद्वको खोपहरु आएका छन्।

आपूर्ती व्यवस्थापन शाखाका अनुसार कोभिसिल्ड १ करोड ५७ लाख ४ हजार ५ सय २०,भेरोसेल २ करोड ३७ लाख ३६ हजार ४ सय,मोर्डना ७६ लाख ५२ हजार खोप नेपाल ल्याइएको छ।

त्यस्तै १२ वर्षमाथिका व्यक्तिलाई लगाउन मिल्ने पी फाइजर खोप २२ लाख ६३ हजार ९ सय ५० र ५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाइने ५५ लाख १० हजार ४ सय खोप नेपाल ल्याइएको छ। 

प्रकाशित: २३ श्रावण २०७९ १३:५२ सोमबार