स्वास्थ्य

पहाड उक्लिदैं डेंगु सार्ने लामखुट्टे, पहाडमा बढ्नथाले डेंगुका बिरामी

गर्मी बढेसँगै पछिल्लो समय डेंगुका बिरामीको संख्या पनि बढ्न थालेको छ। डेंगु सार्ने लामखुट्टे सामान्यतया तातो ठाँउ (तराईका जिल्लाहरु)मा देखिन्छन्।

तर, यसपटक त्यस्ता लामखुट्टे पहाडी जिल्लाहरुमा पनि देखिन थालेका छन्। डेंगुका बिरामीको संख्या पहाडी जिल्लामा पनि बढ्न थालेको छ। धादिङमा जेठको अन्तिम साताबाट देखिन थालेको डेंगु असार अन्तिमसम्ममा ४९ जनामा देखिएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक तोयानाथ सेढाइका अनुसार डेंगुबाट जिल्लामा अहिलेसम्म १ जनाको मृत्यु भएको छ। बिहीबार पर्वतमा पनि २ जना बिरामीमा डेंगु पुष्टि भएको छ। सेढाईं भन्छन्, ‘जिल्लामा अहिले डेंगु फैलदो क्रममा छ। ४,५ जनामा स्क्रबसहितको डेंगु देखिएको छ। डेंगु बिरामी सबैको अवस्था अहिले सामान्य नै छ। इडिसिडिले डेंगु बिरामी देखिएको ठाउँहरुको निरीक्षण गरी जाँनुभएको छ। अब केही दिनमा रिर्पोट आउँछ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार धादिङमा डेंगु नियन्त्रणका लागि अहिले डेंगुका बिरामीहरु देखिएको ठाउँ र देखिन सक्ने ठाउँहरुमा डेंगुका लार्भालाई खोज्ने र मार्ने कामहरु भइरहेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार धादिङमा डेंगु नियन्त्रणका लागि अहिले डेंगुका बिरामीहरु देखिएको ठाउँ र देखिन सक्ने ठाउँहरुमा डेंगुका लार्भालाई खोज्ने र मार्ने कामहरु भइरहेको छ।

त्यस्तै केही दिन अघिमात्र काभ्रेमा पनि डेंगुका बिरामी देखिएका छन्। स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम सेढाईंका अनुसार अहिलेसम्म तीन जनामा डेंगु देखिएको छ। अन्य व्यक्तिहरुमा डेंगुको संक्रमण नदेखिएको उनले बताए। बिरामीहरुको अवस्था सामान्य रहेको र उपचार भइरहेको उनको भनाइ छ।

स्वास्थ्य कार्यालयले अहिले डेंगु सम्बन्धी विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरिरहेको छ। त्यसैगरी चितवनमा गत आर्थिक वर्षमा २ सय १३ जनामा डेंगु देखिएको छ। स्वास्थ्य कार्यालय चितवनका प्रमुख राम केसीका अनुसार चितवनमा असार मसान्तसम्म २ सय १३ जनामा डेंगु देखिएको र पछिल्लो समयमा पनि केही व्यक्तिहरुमा डेंगु पुष्टि हुन थालेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख चुमनलाल दास बर्खायाम लागेपछि डेंगु जस्ता किटजन्य रोगहरु बढनु सामान्य रहेको बताउँछन्। दास भन्छन्, ‘बर्खा सुरु भइसकेको छ डेंगु जस्ता किटजन्य रोगहरु केही मात्रामा देखिनु त्यो सामान्य हो। तर हामीले गर्नुपर्ने कामहरु गरिरहेका छौं। अहिले त्यस्तो धेरै बिरामीहरु देखिएका छैनन्। हामीले डेंगु नियन्त्रण गर्नका लागि लामखुट्टेको लार्भा खोज्ने र मार्ने कामहरु गरिरहेका छौं।’ किटजन्य रोग नियन्त्रण शाखाका अनुसार २०२० मा ३ सय ७७,२०२१ म ५ सय २९ र २०२२ को जुनसम्म १ सय ६४ जनामा डेंगु संक्रमण देखिएकाे छ।

पहाडमा डेंगु

पछिल्लो समय नेपालका उच्च पहाडी तथा हिमाली जिल्लामा डेंगुका बिरामी देखिन थालेका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत किटजन्य रोग शाखाका अनुसार अहिले धेरै मात्रामा डेंगु देखिने जिल्लामा धादिङ रहेको छ। शाखा प्रमुख डा.गोकर्ण दाहालका अनुसार पछिल्लो समय धादिङसँगै संखुवासभा, बर्दिया र ललितपुरमा डेंगुका बिरामीहरु देखिएका छन्। बिहीबार मात्र पर्वतमा दुई जना बिरामीमा डेंगु पुष्टि भएको छ।

पछिल्लो समय नेपालका उच्च पहाडी तथा हिमाली जिल्लामा डेंगुका बिरामी देखिन थालेका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत किटजन्य रोग शाखाका अनुसार अहिले धेरै मात्रामा डेंगु देखिने जिल्लामा धादिङ रहेको छ।

दाहाल भन्छन्,‘कतिपय तराइमा देखिन्छ भन्ने गरेको रोगहरु पछिल्लो समय पहाडमा पनि देखिन थालेको छ। त्यसको पहिलो कारणमा मान्छेहरुको आवत-जावत धेरै भएका कारण त्यस्ता रोगहरु पनि पहाडतिर देखिन थाल्नु। अर्को, प्रविधिको विकाससँगै पहाडी जिल्लामा लामखुट्टेहरु सजिलै जान सक्नु र जलवायु परिवर्तन सँगसँगै लामखुट्टेले आफ्नो आनीबानी परिवर्तन गर्दै जाँदा पहाडमा पनि त्यस्ता रोगहरु बढीरहेका छन्।’

सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोला लामखुट्टेले ठाउँठाउँमा फुल पार्ने र यदि संक्रमित लामखुट्टे भएका उसले पारेको फुल सबै संक्रमित हुने हुँदा सबै ठाउँमा डेंगु फैलिएको बताउँछन्।

के हो डेंगु र यसका लक्षणहरु?  

सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाका अनुसार डेंगु लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। विशेषगरी यो घाम उदाउने वा अस्ताउने बेलातिर एडिज जातीको लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ। संक्रमितमध्ये १० प्रतिशत व्यक्तिहरुमा डेंगुको लक्षणहरु देखिन्छ।  

डेंगु भएमा एक्कासि टाउको दुख्ने, उच्च ज्वरो आउने, मांसपेशी दुख्नुका साथै ढाडको जोर्नीहरू दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाक लाग्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, नाक, गिजाबाट रगत बग्ने आदि लक्षणहरू देखिने गर्दछ।  

बस्तोलाका अनुसार डेंगु भएको खण्डमा लगातार तीनदेखि १० दिनसम्म ज्वरो आउने गर्दछ।  

कसरी बच्ने डेंगुबाट?  

डा. बास्तोला डेंगु हुँदा ज्वरो आउने र धेरै ज्वरो आएमा पारासिटामोल खानुपर्ने बताउँछन्।  त्यस्तै डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नु नै उपयुक्त विकल्प रहेको उनको भनाइ छ।

बस्तोला भन्छन्,‘डेंगुबाट बच्न हामी एकजना लागेर हुँदैन सबै जना लाग्न आवश्यक छ। हामीले घरमा रोपेको फूलको गमलामा पानी जमेको छ भने त्यहाँ पनि लामखुट्टे आउँछ र डेंगु संक्रमण हुन सक्छ। त्यसैले हामीले घर वरिपरि सफा राख्नुपर्ने हुन्छ।’

घर वरिपरि सफा राख्ने,पानी जम्ने खाल्टाखुल्टी पुर्ने,पानी टयांकीमा लामखुट्टे बस्न नदिनका लागि ढाकेर राख्ने,सकेसम्म सुत्दा झुलको प्रयोग गर्ने, खेतबारीमा काम गर्दा सकेसम्म हातखुट्टा ढाक्ने लुगा लगाउने, लामो बुट लगाउने, सकेसम्म साझ घरबाट बाहिर ननिस्कने, लामखुट्टे आउन नदिन विभिन्न खालको औषधिहरुको प्रयोग गर्न सकिने बास्तोलाले बताए। त्यस्तै घरमा लामखुट्टे लाग्न नदिन झ्याल ढोकामा जाली लगाउन उनको सुझाव छ।

प्रकाशित: ५ श्रावण २०७९ १२:२९ बिहीबार

जिल्ला स्वास्थ्य कार्यालय डेंगु इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा स्वास्थ्य कार्यालय