स्वास्थ्य

करारको कर्मचारी हटाएपछि गण्डकी गाउँपालिकाको १५ वटा स्वास्थ्य इकाई बन्द

गण्डकी गाउँपालिका।

गोरखाको गण्डकी गाउँपालिकाले करारका कर्मचारी हटाएपछि १५ वटा सामुदायिक स्वास्थ्य इकाई बन्द भएको छ। साउन १ गतेदेखि करार सम्झौता नगर्ने पालिकाको निर्णयले बिभिन्न वडामा संचालित स्वास्थ्य इकाई, बर्थिङ सेन्टरको सेवा प्रभावित भएको हो।  

‘एउटै वडामा दुई/तीन वटासम्म स्वास्थ्य इकाई थिए अहिले कम्तीमा एउटा छ अरु बन्द छ’ प्रमुख प्रशासकिय अधिकृत बेदहरी अधिकारीले भने, ‘एक जना करार कर्मचारीको भरमा सामुदायिक स्वास्थ्य इकाई चलेका थिए त्यो सबै बन्द भयो।’ साउन १  गतेदेखि त्यहाँबाट सर्वसाधारणले सेवा पाएका छैनन्।  

गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार सामुदायिक स्वास्थ्य इकाईबाट गर्भवती, सुत्केरी, बृद्धवद्धा, बालवालिकालेसेवा लिँदै आएका थिए। स्वास्थ्य परीक्षण, उपचार सेवा, परिवार नियोजनाका अस्थायी साधन बितरण, निशुल्क औषधि वितरण, बालवालिकाको तौल जाँच, स्वास्थ्य परामर्श सेवा घर नजिकको सामुदायिक स्वास्थ्य इकाईबाट सर्वसाधारणले पाउँदै आएका थिए।  

गाउँपालिका भित्र २५ वटा स्वास्थ्य संस्थामा ६८ जना कार्यरत रहेकोमा अहिले २८ जना मात्रै छन्। ४० जना कर्मचारीको करार सम्झौता नबिकरण नभएपछि पालिकाभरी स्वास्थ्य सेवा प्रभावित भएको गण्डकी गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक बेली श्रेष्ठले बताईन्। सामुदायिक स्वास्थ्य इकाई मात्र होईन प्रथमिक स्वास्थ्य केन्द्र, वडामा रहेका स्वास्थ्य संस्थामा पनि जनशक्ति अभाव भएको छ। जसका कारण स्वास्थ्यका नियमित कार्यक्रम सुरु गर्न नयाँ आर्थिक वर्ष लागेदेखि नै समस्या भएको स्वास्थ्यकर्मी बताउँछन्। साउन १० गतेदेखि हुने नियमित खोप पनि प्रभावित हुने भएको छ।  

कर्मचारी नयाँ नियुक्त गर्ने प्रक्रियाको बारेमा ठोस छलफल हुन बाँकी रहेको प्रमुख प्रशासकिय अधिकृत बेदहरी अधिकारीले बताए। ‘कहाँ कति स्वास्थ्य इकाई आवस्यक हो भन्ने यकिन गरेर कर्मचारी नियुक्तीको प्रक्रिया अघि बढ्छ, अहिलेसम्म यसबारे कार्यपालिकामा छलफल र निर्णय भएको छैन।’ गण्डकी गाउँपालिकाको असार ३० गते बसेको कार्यपालिका बैठकले यस अघि करारमा नियुक्त भएकाको सम्झौता नबिकरण नगर्ने निर्णय गरेको थियो। उक्त निर्णयले पालिकामा कार्यरत ७० जनाको करार सम्झौता नबिकरण हुन सकेको छैन।  

करारका कर्मचारी हटाउने निर्णयमा गाउँपालिका उपाध्यक्ष ललिता अधिकारी, वडा नम्बर ३ का अध्यक्ष सुवास पन्त र ४ का अध्यक्ष राजुबाबु भण्डारीले माईन्यूटमै लिखित असहमती जाहेर गरेका थिए। 

प्रकाशित: ४ श्रावण २०७९ १२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App