शहीद गंगालाल राष्ट्रिय हदृयरोग केन्द्रमा अक्सिजेनेटर अभाव भएपछि मुटुको शल्यक्रिया सेवा बन्द भएको छ। सेवा बन्द भएपछि अस्पतालमा भर्ना भएका ४५ जना बिरामी घर फर्किएको अस्पताल प्रसासनले जनाएको छ।
अक्सिजेनेटर मेसिनले मुटुको शल्यक्रिया गर्दा रगतमा भएको कार्बनडाइअक्साइड हटाएर अक्सिजन हाल्ने काम गर्छ। मुटुको शल्यक्रियाका क्रममा मुटु र फोक्सोको काम उपकरणको सहयोगमा कृत्रिम रुपमा सञ्चालन गर्नुपर्छ।
चिकित्सकका अनुसार अक्सिजेनेटर उपकरण एक बिरामीमा एक पटक मात्र प्रयोग गरिन्छ। यो उपकरणको मूल्य ५० हजारसम्म पर्ने गरेको छ।
दैनिक अस्पतालले ६ देखि ८ वटा मुटुको शल्यक्रिया गर्दै आएको छ। गत असारमा १९५ वटा मुटुको शल्यक्रिया गरेको थियो। बच्चाको लागि प्रयोग हुने अक्सिजेनेटर भने १५० वटा मौज्दात छ। अक्सिजेनेटर ओपन हार्ट सर्जरीमा प्रयोग हुन्छ।
प्रकाशित: ४ श्रावण २०७९ ०८:३३ बुधबार