स्वास्थ्य

काभ्रेमा तीन वर्षपछि डेङ्गु संक्रमण

जिल्लामा तीन वर्षपछि तीन स्थानमा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको संक्रमण देखिएको छ। दुई हप्ताअघि पाँचखालमा देखिएको डेङ्गुको संक्रमण हाल धुलिखेल र पनौती क्षेत्रमा पनि देखिएको हो।  

पनौती नगरपालिका–५ सुब्बागाउँका एक ६८ वर्षका पुरुष डेङ्गुको संक्रमणका कारण धुलिखेल अस्पतालमा दुई दिनदेखि उपचारत छन्। पनौती नगरका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाका अनुसार संक्रमित ती पुरुषको स्वास्थ्य अवस्था उपचार सुरु गरिएपछि सुधारोन्मुख रहेको छ। उनले  जिल्ला स्वास्थ्य कार्यालय र नगर स्वास्थ्यको टिमले संयुक्तरुपमा आज पनौतीमा भएको संक्रमणको स्रोतबारे स्थानीयस्तरमा अनुगमन गर्ने बताए। 'हाम्रो टिमले रोगको स्रोतको ‘सर्च एण्ड डिस्ट्रोय’ गर्नेछ,' उनले भने।  

यस्तै केही दिनअघि सदरमुकाम धुलिखेलमा पनि एक पुरुषमा डेङ्गु रोगको संक्रमण देखिएपछि उनलाई निगरानीमा राखी उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ। 'धुलिखेल लगायतको स्थानका डेङ्गु रोगको संक्रमणको केशमा निकै गम्भीरतापूर्वक अनुसन्धान गर्नेछौँ,' कार्यालयप्रमुख डा पुरुषोत्तम सेढाईंले भने। उनका अनुसार पाँचखालमा दुई साताअघि भेटिएका डेङ्गु संक्रमित जिल्ला बाहिरका हुन्।  

ती व्यक्तिमा स्थानीय स्वास्थ्य संस्थामा मलेरिया परीक्षण गर्न जाँदा डेङ्गु रोगको संक्रमण भेटिएको थियो। पाँखालमा भेटिएका संक्रमितको काठमाडौमा उपचार भइरहेको सेढाईंले बताए। लामो समयपछि पाँचखालमा पहिलो डेङ्गु रोगको संक्रमण देखिएलगत्तै यसका लक्षण तथा बच्ने उपायबारे प्रचारप्रसारमा लागिएको तथा स्वास्थ्यकर्मीलाई ‘हाइअलर्ट’मा बस्न भनिएको सेढाईंले बताए। उनका अनुसार डेङ्गु रोगको संक्रमणले महामारीको रुप नलियोस् भन्ने उद्देश्यले काभ्रेपलाञ्चोकको तीनै स्थानमा जिल्ला स्वास्थ्य कार्यलयको र्‍यापिड टिम’ले अनुगमन तथा सम्भावित परीक्षण गरिने छ।  

लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्ने व्यक्तिलाई एक्कासि उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्नेगरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र माँसपेसी दुख्ने, शरीरमा बिमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथावा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहास हुने लक्षण देखिन्छ। समयमै उचित उपचार नपाए बिरामीको मृत्यु समेत हुने गर्दछ।  

 काभ्रेमा यसअघि विसं २०७६ भदौ दोस्रो साता डेङ्गुको सङ्क्रमण देखिएको थियो। रासस

प्रकाशित: २ श्रावण २०७९ ०५:२९ सोमबार

डेङ्गु