स्वास्थ्य

ओपिडी र इमर्जेन्सी टिकट, शय्या र रगत निःशुल्क

लुम्बिनी र राप्ती प्रादेशिक अस्पताल

लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा आजदेखि बिरामीहरूले ओपिडी र इमर्जेन्सीको टिकट शुल्क र बेड शुल्क तिर्नु नपर्ने भएको छ। आइतबारदेखि बिरामीहरूले यी दुई अस्पतालको ओपिडी र इमरजेन्सीको टिकट र शय्या निःशुल्क पाउने भएका हुन्।  

प्रदेश सरकारले आर्थिक वर्ष २०७९/२०८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीलाई ओपिडी र इमर्जेन्सीको टिकट तथा बेडमा शुल्क नलिने घोषणा गरेको थियो। बजेटले सम्बोधन गरे अनुरूप आज (साउन १) गतेदेखि सरकारको सो निर्णय कार्यान्वयनमा आएको प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारूले बताए।  

‘स्वास्थ्य मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाइ २०७९ साउन १ गतेदेखि बहिरंग सेवा र जनरल बेड सेवा निःशुल्क गर्न निर्देशन जारी गरी सकेको छ,’ मन्त्री चौधरीले भने। मन्त्री चौधरीले ओपिडी र बेड निःशुल्क गर्न एक करोड ५० लाख रूपैयाँ बिनियोजन गरीएको जानकारी दिए।

आजैदेखि (साउन १ गते) प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीहरूका लागि रगत पनि निःशुल्क उपलब्ध गराइने भएको छ। रगत निःशुल्क गर्न लुम्बिनी प्रादेशिक अस्पताल र रक्तसञ्चार सेवा केन्द्रबीच सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ। लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा इन्द्र ढकाल र रक्तसञ्चार केन्द्रका संयोजक कृष्ण पंगेनीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सो सम्झौतासँगै रक्त सञ्चार केन्द्र बुटवलले अस्पतालको सिफारिसमा कुनै पनि सेवा शुल्क नलिई रगत उपलब्ध गराउने केन्द्रका संयोजक पंगेनीले बताए। सरकारले बजेटमा निशुल्क रगतका लागि ३ करोड बजेट छुट्टाएको छ ।

प्रकाशित: २ श्रावण २०७९ ०३:१० सोमबार

लुम्बिनी प्रादेशिक अस्पताल राप्ती प्रादेशिक अस्पताल