स्वास्थ्य

सुनसरीलाई पूर्ण खोप सुनिश्चितता घोषणा

पूर्ण खोप सुनिश्चितता घोषणाका अवसरमा सम्मान गर्दै। तस्बिर: नागरिक

सुनसरीलाई विहीबार पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ। जिल्लाका लक्षित बालबालिकालाई सबै खोप पूरा गरिएपछि  पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो।

सुनसरी पूर्ण खोप सुनिश्चितता घोषण हुनेमा देशभरमा ६६औं जिल्ला हो भने प्रदेश नं. १ को अन्तिम जिल्ला हो। प्रदेश नं. १ मा १४ जिल्ला छन्। जसमा प्रदेश नं. १ मा ताप्लेजुङ र सुनसरी पूर्ण खोप सुनिश्चितता घोषण हुन बाँकी थिए। 

ताप्लेजुङ असार २४ गते घोषणा भएकोमा सुनसरी बिहीबार भएको हो। ताप्लेजुङ र सुनसरी घोषणा भएसँगै अब प्रदेशभरका सबै जिल्लाले पूर्ण खोप सुनिश्चितताको मापदण्ड पूरा गरेर औपचारिक घोषणा पनि भइ सकेका छन्। तर, प्रदेशले घोषणा गर्न भने बाँकी छ। अब साउन महिनाभित्रै घोषणा हुन प्रदेश सरकारले जनाएको छ।

प्रदेश नं.१ का सबै जिल्ला पूर्ण खोप सुनिश्तितता घोषण भएसँगै अब भावी दिनमा जन्मिने वच्चा कोही नछुटने वातावरण सिर्जना गर्नुपर्ने प्रदेश नं. १ स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले बताए।  

सुनसरीलाई पूर्ण खोप सुनिश्चित घोषण कार्यक्रममा प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले मानव स्वास्थ्यका निम्ति शिक्षाबाट प्रेरित भएर अघि बढ्न जरुरी रहेको बताए। ‘भौतिक विकासभन्दा मानवीय विकास महत्वपूर्ण हो,’ मन्त्री कार्कीले भने, ‘चेतनाले समाजलाई नयाँ रुपमा लिएर जाने हुँदा श्रमको आधारमा सम्मान गर्ने वातावरण सिर्जना गर्नुपर्छ।’  

कार्यक्रममा इनरुवाका मेयर केदार भण्डारीले पूर्ण खोल सुनिश्चितता घोषणा गरिएपछि अब जन्मिने वच्चाहरुका निम्ति सवैलाई सहज ढंगले खोप प्रदान गर्न कोखदेखि सोखसम्मको व्यवस्था गर्नुपर्नेमा जोड दिए।  

सुनसरीमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पूर्ण खोप सुनिश्चितता अभियानलाई दिगोपना कायम गर्न सुक्ष्म ढंगले योजना बनाएर आगामी दिनमा बढनुपर्ने बताए। जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले २०७२ सालबाट थालिएको अभियान आठ वर्षपछि सफल भएको बताए।  

सो कार्यक्रममा १२ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखले पूर्ण खोप सुनिश्चितता अभियानलाई दिगोपना कायम राख्न प्रतिबद्दता पत्रमा हस्ताक्षर गरेका छन्। कार्यक्रममा जिल्लाभरका सवै पालिकालाई पूर्ण खोप सुनिश्चिता गर्न सहयोग गरेकोमा प्रसंसा पत्र प्रदान गरिएको थियो। पूर्ण खोप सुनिश्चिताका लागि सहयोग गर्ने १२ वटै स्थानीय तहका स्वास्थ्य स्वयम् सेविकालाई पनि सम्मान गरिएको थियो।

प्रकाशित: ३० असार २०७९ १३:५८ बिहीबार