स्वास्थ्य

कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत

बागलुङमा कोरोनाबाट मृत्यु भएका परिवारलाई  ५७ लाख राहत रकम प्रदान गरिएको छ। गण्डकी प्रदेश सरकारले ११ जिल्लामै कोरोनाबाट मृत्यु भएका परिवारलाई ५० हजार राहत रकम प्रदान गर्ने निर्णय अनुसार चालु आर्थिक वर्षमा ५७ लाख राहत रकम वितरण गरिएको छ।  

स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार बागलुङमा कोरोनाका कारण मृत्यु भएका ११४ जनाले ५० हजारका दरले राहत रकम बुझिसकेको बताए। 'जिल्लामा कोरोनाले मृत्यु भएको संख्या ७२ हो तर जिल्लाबाट उपचारका क्रममा विभिन्न अस्पतालमा मृत्यु भएकाको परिवारलाई समेत राहत दिने नीति थियो,' गुरौले भने।  

सम्पर्कमा आएका र कागजात बुझाएकालाई खोजी–खोजी राहत दिएको भए पनि केही मृतकका परिवार राहत लिनै नआएको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए।  

घिमिरेले स्वास्थ्य कार्यालयले ५० हजार राहत रकम दिए पनि बागलुङका केही पालिकालेसमेत मृतकका परिवारलाई राहत रकम दिएको बताए। पालिकाको राहत विवरण स्वास्थ्य कार्यालयलाई नआउने भएकाले कुन पालिकाले कति राहत दियो भन्ने थाहाँ नभएको घिमिरेले जानकारी दिए।  

जिल्लाको काठेखोला गाउँपालिकामा कोरोना संक्रमितका कारण ज्यान गुमाएकाको परिवारले २० हजारका दरले राहत दिएको थियो। गाउँपालिकाले आर्थिक वर्ष २०७८/८९ मा विनियोजित गरेको ३ लाख ६० बजार बजेट अनुसार कोरोनाका कारण मृत्यु भएकाको परिवारलाई २० हजारका दरले राहत रकम प्रदान गरिएको काठेखोला गाउँपालिकाले जनाएको छ।

गाउँपालिकामा कोरोना संक्रमणका कारण १८ जनाले ज्यान गुमाएका थिए। रासस

प्रकाशित: २७ असार २०७९ ०५:५९ सोमबार

कोरोना