स्वास्थ्य

सर्पदंशका कारण दैनिक पाँच जना अस्पताल भर्ना

सर्पको टोकाइबाट एकको मृत्यु

दैनिकजसो सर्पले टोकेपछि राजधानी नजिकका गाउँ तथा जिल्लाहरूबाट अस्पतालमा उपचार गर्न आउनेहरू बढिरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले जनाएको छ। अस्पतालको आकस्मिक कक्षका अनुसक औसत पाँचदेखि छ जना सर्पको टोकाइका बिरामीहरू उपचारका लागि पुग्ने गरका छन्। आइतबार पनि अस्पतालको आकस्मिक कक्षमा पाँच जनाको उपचार भइरहेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए। असार महिनादेखि यता सर्पले टोकेर आउनेहरूको संख्या बढेको अस्पतालका चिकित्सकले जनाएका छन्।  

सर्प टोकाइकै कारण तीनसाता अघि दोलखाका ७० वर्षीय पुरुषको मृत्यु भएको डा. किजन महर्जनले जानकारी दिए। उनको उपचारकै क्रममा टेकु अस्पतालमा मृत्यु भएको हो। पहाडी भेगमा पाइने विषालु हरियो नामक सर्पले टोकेका कारण मृत्यु भएको हो। काठमाडौं उपत्यकाबाट नजिक रहेका जिल्लाहरू दोलखा, काभे्र, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, गोर्खालगायतका जिल्लाबाट सर्पले टोकेपछि यो अस्पतालमा उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ। दैनिक ५ जनाका दरले मासिक १ सय ५० जना भन्दा बढीलाई सर्पले टोकेको देखिन्छ। दुई महिनाको अवधिमा ३ सय जनाभन्दा बढीलाई सर्पले टोकेको कुरा अस्पतालमा आउने बिरामीको औसत संख्याले देखाउँछ।  

यो वर्ष देशभरिमा कति जना सर्पको टोकाइमा परे भन्ने तथ्यांक जुनोसिस शाखामा अभिलेख तयार भइसकेको छैन। गत आर्थिक वर्ष विषालु सर्पले ९ सय ६७ जनालाई टोकेका थिए भने ६ हजार ९ सय ६७ जनालाई विषरहित सर्पले टोकेका थिए।  

चिकित्सकका अनुसार सर्पले टोक्नेहरूमा बढी खेतबारीमा काम गर्ने कृषकहरू छन्। घाँस काट्ने क्रममा, झाडीमा हिड्ने क्रममा सबैजसोलाई सर्पले टोकेको पाइएको अस्पतालका चिकित्सक महर्जन बताउँछन्। उनको अनुसार सकेसम्म सर्पले टोकेको थाहा पाउने बित्तिकै छिटोभन्दा छिटो अस्पतालमा पुग्नुपर्छ। सर्पले टोकेको लक्षण कतिपयमा ढिला गरी देखिने हुँदा कुन सर्पले टोकेको भन्ने यकिन हुन गाह्रो हुन्छ। पहाडी भेगका सर्पहरू तराइमा पाइने सर्पको तुलनामा कम विषालु भए पनि हरियो नामक सर्प बढी विषालु हुने भएकाले जुनसुकै सर्पले टोकेमा पनि सकेसम्म उपचारका लागि छिटोभन्दा छिटो पुग्नुपर्ने चिकित्सक बताउँछन्। विषालु सर्पले टोकेर समयमै उपचारमा नभएमा रगत पातलो हुन्छ। शरीरमा विष फैलिएर मृत्युसमेत हुन सक्छ।  

तराइ भेगमा पाइने सर्पहरूमा करेट, गोमन र माइपस बढी विषालु हुन्छन्। यी सर्पले टोकेमा शरीरमा विष फैलिएर शरीरको रगत र नशामा असर गरी बिरामी शिथिल बन्छन्। बिरामीले कुन सर्पले आफूलाई टोकेको हो भन्ने पहिचान गर्न नसकेमा लक्षणका आधारमा पहिचान गर्न सकिन्छ। तर लक्षण देखिन समय लाग्ने भएकाले सर्पले टोकेको दाग देख्ने बित्तिकै अस्पतालमा पुग्न चिकित्सक सुझाउँछन्। चिकित्सकका अनुसार विषालु सर्पले टोकेमा बिरामीले आँखा खोल्न नसक्ने, जिब्रो बाहिर निकाल्न नसक्ने, टोकेको भागमा रगत जमेर निलो डाम बन्नेजस्ता लक्षण देखिन्छन्। यस्ता लक्षण देखिएमा विषालु सर्पले टोकेको हो भन्ने यकिन हुन्छ।  

मानिसलाई टोकेका सबै सर्प विषालु नहुने १० देखि १५ प्रतिशत मात्र विषालु हुने भएकाले गाउँघरमा सर्पको उपचारमा अहिले पनि भ्रम रहेको छ। विषालु नभएका ८५ प्रतिशत सर्पहरू विषालु नहुने र त्यस्ता सर्पले टोकेका मानिसहरू धामीको उपचारमा निको भएको देखिएकाले अहिले पनि कतिपय मानिसहरू धामीको भरमा पर्दा विषालु सर्पले टोकेको मानिस निको नभई मृत्युको मुखमा पुग्ने गर्छन्। ‘विषालु नभएका सर्पले टोकेको बेलामा मात्र धामीबाट निको भएको देखिनु भनेको मानिसहरू धामीले सबै सर्पले टोकेमा निको हुन्छ भन्ने भ्रम अहिले पनि छ, यही गलत बुझाइले वर्षेनी धेरैको मृत्यु हुन्छ,’ राष्ट्रिय इपिडमोलोजी तथा रोग नियन्त्रण महाशाखा जुनोसिस शाखाकी डाक्टर रोशिका श्रेष्ठले भनिन्।

डा. श्रेष्ठका अनुसार कुनै पनि सर्पले टोकेपछि सक्दो छिटो उपचारमा जानु सबैभन्दा उत्तम उपाय रहेको सुझाइन्। घाँस काट्न जाँदा, खेतबारीमा जाँदा हेरेर काम गर्ने, घरवरपर सफा राख्ने, रातिमा बाहिर जाँदा टर्च बालेर मात्र जाने, भुइँमा नसुत्ने, सकेसम्म झुल लगाएर मात्र सुत्ने गरेमा सर्पको टोकाइबाट बच्न सकिने डा. श्रेष्ठको सुझाव छ।

प्रकाशित: २७ असार २०७९ ०३:०४ सोमबार