स्वास्थ्य

नेपालमा भेटियो ओमिक्रोनको उपप्रजाति ‘बिएफ फाइभ’

नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बिएफ फाइभ’ भेटिएको छ। धुलिखेल अस्पतालले गरेको जिन सिक्वेन्सिङका क्रममा ओमिक्रोनको यो उपप्रजाति भेटिएको हो। बिएफ फाइभ कोरोना भाइरसको प्रजाति ओमिक्रोनको उपप्रजाति हो।

अन्य प्रयोगशालाबाट संकलन भएको नमुनाको जिन सिक्वेन्सिङ गर्ने क्रममा उक्त उपप्रजाति भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले बताइन्। अन्य प्रयोगशालाबाट आएको नमुनाको जिन सिक्वेन्सिङ गर्ने क्रममा यो उपप्रजाति भेटिएको हो। प्रवक्ता मिश्राले नेपालमा पहिलोपटक देखिएको यो उपप्रजातिले कति असर गर्छ भन्ने विषयमा थप अध्ययन हुन बाँकी रहेको बताइन्।

हाल कोरोना भाइरस संक्रमण फैलिरहेका देशहरूमा यो उपप्रजाति पहिला नै देखिइसकेको भए पनि नेपालमा पहिलोपटक पुष्टि भएको भाइरोलोजिस्ट तथा प्रदेश दुई जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवणकुमार मिश्रले बताए। भारतलगायत अन्य देशहरूमा यो उपप्रजाति चैतमै पुष्टि भइसकेको उनको भनाइ छ। बिएफ फाइभ भारतमा केही महिनाअघि नै पुष्टि भइसकेको र नेपालमा मात्र हालै पुष्टि भएको डा. मिश्रले बताए। उनका अनुसार यो उपप्रजाति फैलिएको अन्य देशमा संक्रमण हुने दरमा वृद्धि भएको र नेपालमा पनि हाल ओमिक्रोनको संक्रमण फैलिरहेको हुनाले थप संक्रमण वृद्धि हुने सम्भावना देखिएको छ।

‘अहिले नेपालमा कोरोना संक्रमणदर फैलिरहेको देखिन्छ, थप जिन सिक्वेन्सिङ हुनु आवश्यक छ,’ उनले भने। हाल कोरोना भाइरसका नमुनाहरूको जिन सिक्वेन्सिङ भइरहेको र रिपोर्ट आउने क्रममा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। प्रयोगशालाका सूचना अधिकारी डा. राजेश गुप्ताका अनुसार पछिल्लो जिन सिक्वेन्सिङको रिपोर्ट आएपछि अबको अवस्थाबारे थप जानकारी हुने बताए। खोप लिइसकेका मानिसमा समेत बिएफ फाइभको संक्रमण हुने, यसले वृद्धवृद्धालाई बढी असर गर्ने र धेरैजनामा फैलन सक्ने भएकाले सबैलाई सजग हुन उनले आग्रह गरे। ‘सबैजना सचेत हुनुपर्ने बेला आयो,’ उनले भने।

नेपालमा धेरै जनसंख्याले कोभिड–१९ विरुद्धको खोप लिइसकेकाले कति असर गर्छ भन्ने हेर्न बाँकी रहेको मिश्रको भनाइ छ।

प्रकाशित: २० असार २०७९ ०२:१४ सोमबार