स्वास्थ्य

कोभिड-१९ पछिको क्षयरोग नियन्त्रणमा गम्भीरता खोई?

कोभिड–१९ ले विश्वलाई आक्रान्त पार्न थालेपछि नेपाललगायत धेरै देशले भाइरसको संक्रमणलाई रोक्न लकडाउन घोषणा गरेका थिए। लकडाउन जस्तो कडा उपायले व्यक्तिको आम्दानी घटाउने, खाद्य आपूर्तिमा अवरोध ल्याउने र स्वास्थ्य सेवाको पहुँचमा असर पुर्‍याएको थियो जसले गर्दा खाद्य र पोषणमा गम्भीर संकट सिर्जना गरेको थियो। कम ज्याला पाएका कारण ग्रामीण घरपरिवारमा बस्ने विशेषगरी सबैभन्दा कमजोर वृद्धवृद्धा र बालबालिकाहरूसँग पर्याप्त खानाको उपलब्धता नभएकाले दीर्घकालीन स्वास्थ्य अवस्थालाई जोखिममा पार्नुबाहेक कुनै विकल्प बाँकी थिएन।

पहिल्यैदेखि नेपाल चरम गरीबी, गम्भीर कुपोषण र संक्रमणको चपेटामा परेको थियो र अहिले पनि छ। खाद्य र पोषण असुरक्षा नेपालका लागि नियमित तर गम्भीर समस्याका रूपमा देखिएका छन्। कोभिड सुरु भएयता कुपोषणको समस्या अझ थपिएको अनुमान छ। कुपोषणकै अवस्थामा नेपाल कोभिडबाट पनि त्यत्तिकै प्रभावित भयो। यसले अर्को जनस्वास्थ्यलाई अर्को जटिलतातर्फ धकेलेको छ। कोभिडले क्षयरोगको सम्भावना प्रचुर बनाएको छ। त्यसैले नेपालले खाद्य र पोषण असुरक्षाका साथै कुपोषणको तेस्रो बोझ पनि सामना गर्नुपरेको छ।

गरीबी, भोकमरी र कुपोषणले सक्रिय क्षयरोगको सम्भावना र रोगको गम्भीरता पनि बढाउँछ। नेपालमा अझै एक चौथाइ जनसंख्या गरीबीको रेखामुनि छ, जसले गर्दा पाँच वर्षमुनिका बालबालिकामा पुड्कोपन (उमेरअनुसार उचाइ नहुनु), न्यून वजन (उमेर अनुसारको वजन नहुनु) र ख्याउटेपन (उचाइ अनुसार वजन नहुनु) जस्ता समस्या   पाइन्छ। यस्तो अवस्थामा व्यापक रूपमा संक्रमण गराउन सक्ने क्षयरोग अर्को खतरनाक शत्रु बन्न पुग्छ।

हामीले कोभिड-१९ को सामना त गर्‍यौं तर कुपोषण क्षयरोगको कारण र परिणाम दुवै हुन सक्छ भन्ने तथ्य बिर्सियौं। नेपालको राष्ट्रिय क्षयरोग कार्यक्रमको प्रतिवेदन २०२० ले नेपालमा १० लाखभन्दा बढी क्षयरोगी बाँचिरहेको देखाएको छ। यो संख्या अनुमान गरिएभन्दा धेरै हो तर महामारीको समयमा धेरै बिरामीको उपचारमा पहुँच नपुगेको कारण यो संख्या बढेको अनुमान गर्न सकिन्छ। नेपालमा विशेषगरी बालबालिकाहरूमा कमजोर पोषणस्थिति र रक्त अल्पताले क्षयरोग हुनुमा भूमिका खेलेको खोजअध्ययनले देखाएका छन्।

यो किन महत्त्वपूर्ण छ? किनभने कुपोषणले रोगको गम्भीरता बढाउन सक्छ, निको हुन ढिल्याइ हुन सक्छ, मृत्युको सम्भावना बढाउन सक्छ र बिरामीहरूलाई औषधिबाट गम्भीर साइड इफेक्टहरू भोग्ने सम्भावना बढाउँछ। कोभिड १९ को प्रकोपले खाद्य असुरक्षालाई बढाएको छ जसले गर्दा प्रवासी र श्रमिक जनसंख्यालाई भोकमरी र कुपोषणको जोखिममा धकेलेको छ। 

लामो समयसम्मको कुपोषणले प्रतिरक्षा प्रणाली कमजोर बनाउन सक्छ र सक्रिय क्षयरोगको जोखिम बढाउन सक्छ। त्यस्तै क्षयरोगले कुपोषण बनाउन भूमिका खेल्छ र बिरामीको तौल घटाउँछ। पहिलो, रोगले भोक कम गर्छ। दोस्रो, ज्वरोले क्यालोरी खर्च हुने दर बढाउँछ र अन्तमा क्षयरोगले प्रोटिन नष्ट गर्ने र मांसपेशी कमजोर बनाउने गर्छ, जसको कारण व्यक्तिको उचाइअनुसार तौल कम हुँदै जान्छ। कम पोषणले बिरामीहरूलाई उपचार गर्दा र निको भइसकेपछि पनि चुनौती दिन्छ।

कुपोषणले निको हुने दर पनि घटाउँछ। पर्याप्त पोषण भएका बिरामीहरूभन्दा गम्भीर रूपमा कुपोषित बिरामीहरूको मृत्यु हुने सम्भावना दुईदेखि चार गुणा बढी हुन्छ। न्यून पोषणले मांसपेशीलाई कमजोर बनाएकाले शारीरिक गतिविधिमा असर गर्नुका साथै रोग दोहोरिने सम्भावना पनि बढाउँछ।

त्यसो भए के गर्न सकिन्छ?

कोभिड महामारीअघि नेपालको राष्ट्रिय क्षयरोग कार्यक्रमले देशमा बहुऔषधि प्रतिरोधी क्षयरोग (डिआर टिबी)का बिरामीहरूलाई सामाजिक सुरक्षा लागतको रूपमा प्रतिबिरामी प्रतिमहिना ३ हजार रुपैयाँको पोषण र यातायात भत्ता उपलब्ध गराएको थियो। यो कार्यक्रम महामारीपछि पनि जारी रह्यो रहेन भन्ने कुराको जानकारी छैन किनभने ‘कोभिड १९–क्षयरोग कार्यक्रमको तयारी, प्रतिक्रिया र सिकेको पाठ’ प्रतिवेदनमा यसको निरन्तरताबारे उल्लेख गरिएको छैन। तर, के यो पर्याप्त हुनेछ?

पहिले नै सुस्त अर्थतन्त्रमा जागिर गुमाउँदा बिरामी र परिवारहरू हताश हुन्छन्। बन्दाबन्दी, निरन्तर बसाइँसराइ, अर्थतन्त्रमा हुने अनौपचारिक घाटाका कारण खाद्य सुरक्षा र पोषणको स्तर घट्ने र भोकमरी बढ्ने सम्भावना हुन्छ। यसले व्यक्तिको रोग प्रतिरक्षा प्रणालीमा दीर्घकालीन प्रभाव पार्नेछ र अव्यक्त(ल्याटिन) क्षयरोगीको संख्या बढाउने छ।

तसर्थ बेरोजगार र आप्रवासीहरू लगायत गरीब कमजोर जनसंख्यालाई लक्षित गरी फराकिलो र व्यापक खाद्य सुरक्षाको व्यवस्थापन गर्न जरुरी छ। क्षयरोगबाट बढी प्रभावित हुने समुदायका लागि पनि खाद्य सुरक्षासम्बन्धी विशेष कार्यक्रमको आवश्यकता देखिएको छ। मानिसहरूलाई यस्ता क्रियाकलापमा संलग्न गराउन सार्वजनिक कार्यक्रम आयोजना गर्न पनि सञ्चारको भूमिका रहन्छ।

सबै प्रकारले उपचारभन्दा रोगको रोकथाम गर्नु नै राम्रो उपाय हो। गरीब र जोखिमपूर्ण समूहका जनसंख्यालाई पोषणसम्बन्धी आर्थिक सहयोग सुनिश्चित गर्न जरुरी छ। क्षयरोगको प्रकोप घटाउन प्राथमिक स्वास्थ्य सेवाप्रदायकहरूलाई तालिम र जिम्मेवारी दिन आवश्यक हुन्छ।  जसले खोप कार्यक्रम, पोषण सहयोग र हेरचाह जारी राख्न मद्दत पुग्छ। हामीले तुरुन्तै भोकमरी र क्षयरोगलाई सँगै सम्बोधन गर्न आवश्यक छ। कुनै पनि ढिलाइ जनसंख्या स्वास्थ्यका लागि अपराध सावित हुन सक्छ।

(लेखक टिबी सर्भाइवर जनस्वाथ्यकर्मी हुन्।)

प्रकाशित: १२ असार २०७९ १२:०६ आइतबार