बराहताल गाउँपालिका–६ इखेनीकी विष्ना बलेलीको १३ वर्षकै उमेरमा विवाह भयो। अघिल्लो वर्ष सुत्केरी हुँदा अत्याधिक रक्तश्रावका कारण उनको मृत्यु भयो। समय–समयमा गर्भजाँच गराएको भए अथवा स्वास्थ्यकर्मीहरुको निगरानी भइदिएको भए विष्नाको सायद मृत्यु हुँदैनथ्यो। ‘पेटमा जुम्ल्याहा बच्चा रहेछन्, बच्चा जन्माएपछि अत्याधिक रक्तश्राव भयो,’ स्थानीय पुष्पा वादीले भनिन्, ‘नजिकमा स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मी भएको भए बचाउन सकिन्थ्यो, वीरेन्द्रनगर लिने तयारी गर्दागर्दै उनले प्राण त्यागिन्।’
इखेनीको ललिता विक जेठमा १३ वर्षकी पुगिन्। मंसिरमा विवाह गरेकी ललिता अहिले दुई जिउकी छन्। सानो उमेरमा गर्भवती भएकी ललिताले स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य चेकजाँच गराएकी छैनन्। नजिकमा अस्पताल छैनन्। टाढा जानका लागि यातायात र साथ लागिदिने मानिस छैनन्। त्यसमाथि पैसाको समस्या हुनेनै भयो। ‘श्रीमान कमाउन कालापहाड (भारत) जानु भएको छ,’ ललिताले भनिन्, ‘चेकजाँच गराउनका लागि नजिक अस्पताल छैन्, टाढा जान साथ लागिदिने कोही छैन्।’
बराहताल प्रदेश राजधानी वीरेन्द्रनगरसँग जोडिएको पालिका हो। त्यहीँ पालिकाभित्रको इखेनी बस्ती भेरी नदी किनारसँग जोडिएको छ। सशस्त्र द्वन्द्वपछि २०६५ सालमा तत्कालीन विद्रोही माओवादीले जंगलबीचको समथल जमिन फाडेर बसाएको यो बस्तीमा ११९ घरहरु छन्। अधिकांस दलित समुदायको बसोबार रहेको इखेनीबाट नजिकका स्वास्थ्य संस्थामा पुग्न चारदेखि पाँच घण्टासम्म लाग्छ। ‘पेटमा बच्चा बोकेर त्यति टाढा जानु समस्या हुन्छ,’ पुष्पाले भनिन्, ‘स्वास्थ्यका दृष्ट्रिकोणले इखेनी धेरै दुर्गम छ।’
इखेनीमा शनिबार सुर्खेत महिला जेसीजले निःशुल्क स्वास्थ्य शिविरको आयोजना ग¥यो। स्वास्थ्य शिविरमा चेकजाँचका लागि आएका ८४० मध्ये ४१६ महिला थिए। स्वास्थ्य शिविरमा आएकी १९ वर्षीया शान्ता परियारले पहिलो पटक भिडियो एक्सरे गरिन्। नौ महिनाकी गर्भवती शान्ताले पेटभित्रका बच्चाको अवस्थामा बारेमा जानकारी पाइन्। सरकारले गर्भ रहेदेखि बच्चा जन्मदासम्म कम्तिमा चार पटक अनिवार्य स्वास्थ्य संस्थामा गएर आमा र पेटभित्रको बच्चाको स्वास्थ्य जाँच गर्नुपर्ने व्यवस्था गरेको छ। शान्ता जस्ता दुर्गम र स्वास्थ्य संस्थाको पहुँच बाहिरका महिलाहरु सरकारको निर्देशन पालना गर्न सक्ने अवस्थामा छैनन्।
‘आफ्नो भन्दा पनि पेटभित्रको बच्चाको अवस्था कस्तो छ भन्ने चिन्ता लाग्थ्यो,’ भिडियो एक्सरेमार्फत गर्भजाँच गरेपछि उनले भनिन्, ‘डाक्टरले बच्चाको स्वास्थ्य राम्रो छ भनेपछि धेरै खुशी लाग्यो।’ इखेनीमा भखर गाडी गुड्ने बाटो पुगेको छ। गाडी भने चलेका छैनन्। स्थानीयसँग आफ्नै सवारी छैनन्। भारतमा मजदूरी गरेर इखेनीमा चुल्हो बाल्ने यहाँका स्थानीयका लागि स्वास्थ्य संस्थासम्मको पहुँच धेरै टाढा छ। इखेनीमा अधिकांस दलित समुदायको बस्ती छ। घरमा नयाँ वर्ष र दशैं–तिहारको बेला मात्रै लोग्ने मानिस भेटिन्छन्। अधिकांस समय उनीहरु कमाउन कालापहाड हुन्छन्।
प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. ललितजंग शाहीले इखेनी र वरपरका बस्तीका महिलामा स्वास्थ्य समस्या अधिक पाइएको बताए। ‘अधिकांसले उमेर नपुग्दै विवाह गर्ने र कम उमेरमै गर्भवती हुने गरेका कारण पाठेघर र तल्लो पेट दुख्ने समस्या अधिक पाइयो,’ डा. शाहीले भने, ‘गर्भवती हुँदा स्याहार नपाउने, आइरन चक्की नखाने, गह्रुँगो कामहरु गर्नेलगायतका कारणले यहाँका महिलामा स्वास्थ्य समस्या धेरै छ।’ उनले चेकजाँच गरेका ४१६ महिला मध्ये अधिकांस २० वर्षमुनिका रहेको बताए।
‘अधिकांसका श्रीमानहरु कमाउन भारत जानु हुँदो रहेछ, घरमा एक्लै भएका कारण गर्भवती र सुत्केरी महिलाहरुले सबै काम गर्नुपर्ने भएकाले पनि महिला सम्वन्धीका समस्या धेरै देखियो,’ डा. शाहीले भने, ‘इखेनीमा स्वास्थ्य सम्वन्धी जनचेतनाको खाँचो देखिएको छ।’ स्वास्थ्य शिविरमा आएका सबै गर्भवती महिलाहरुले पहिलो पटक भिडियो एक्सरे सेवा लिएका थिए। ‘शिविरमा आएका कुनै पनि महिलाले यसअघि भिडियो एक्सरे जाँच नगरेका रहेछन्,’ उनले भने, ‘भिडियो एक्सरेका लागि धेरै टाढा जानुपर्ने बाध्यता भएर होला पहिलो पटक भिडियो एक्सरे गर्दा धेरै महिलाहरुले अप्ठ्यारो मानिरहनु भएको थियो।’
स्वास्थ्य शिविरमा स्त्रीरोगसँगै बालरोग विशेषज्ञ डा. नवराज केसी र जनरल फिजिसियन डा. इन्द्र थापाले विरामीहरुको चेकजाँच गरेका थिए। डा. केसीले महिलासँगै बालबालिकाको स्वास्थ्य पनि जोखिममा रहेको बताए। ‘बालबालिकामा पोषणसँगै अभिभावकमा स्वास्थ्य चेतनाको कमि छ,’ डा. केसीले भने, ‘शिविरमा उपचार संभव नभएका बालबालिका र महिलालाई वीरेन्द्रनगरमा निःशुल्क उपचारका लागि बोलाएका छौं।’
सुर्खेत महिला जेसीजका अध्यक्ष मनिषा कौशलले दुर्गम क्षेत्रका नागरिकहरुको स्वास्थ्य उपचारका लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको बताइन्। ‘पहिलो पटक इखेनीमा यति ठूलो स्वास्थ्य शिविरको आयोजना ग¥यौं,’ उनले भनिन्, ‘पहिलो पटक शिविरमै भिडियो एक्सरे सेवा पनि दिएका थियौं।’ उनले आगामी दिनहरुमा पनि दुर्गम क्षेत्रमा स्वास्थ्य शिविरको आयोजना गरिने बताइन्। ‘स्वास्थ्यको सहज पहुँच नभएका क्षेत्रमा यसै गरेर शिविरको आयोजना गर्नेछौं,’ उनले भनिन्, ‘यस्ता कार्यबाट सेवासँगै स्वास्थ्यको पहुँचबाट बाहिर रहेकाहरुले विशेषज्ञ स्वास्थ्य सेवा पाउँछन्।’
प्रकाशित: ५ असार २०७९ १२:४७ आइतबार