स्वास्थ्य

सिन्धुली अस्पतालमा इन्डोस्कोपी सेवा

सिन्धुली अस्पतालमा सुरु भएको इन्डोस्कोपी सेवाको सञ्चारकर्मीहरुलाई जानकारी गराइँदै। तस्बिरः अनिल/नागरिक

जिल्ला अस्तालमा सिन्धुलीमा इन्डोस्कोपी सेवा सुरु भएको छ। जिल्लामा ग्यास्ट्रिका समस्या भएका बिरामी बढ्दै गएपछि अस्पतालले बिरामीलाई लक्षित गरेर सिन्धुली अस्पतालले इन्डोस्कोपी सेवा सुरु गरेको हो।  

बागमती प्रदेश सरकारको करिब २५ लाख लागतमा इन्डोस्कोपी मेसिन एक हप्ता अगाडिनै आइसकेकाले सेवा सुचारु हुन थालेको जिल्ला अस्पताल सिन्धुलीले जनाएको छ।  

ग्यास्ट्रिका बिरामीले समयमै उपचार गर्न नसक्दा क्यान्सर सम्म हुने खतरा भएकाले समयमै उपचार गर्नका लागि जिल्ला अस्पतालले इन्डोस्कोपी सेवा सुरु गरेको हो। काठमाण्डौका अस्पतालभन्दा जिल्ला अस्पतालमा सस्तो मुल्यमै इन्डोस्कोपी सेवा लिन सकिने जिल्ला अस्पताल सिन्धुलीका मेडिकल सुपरिटेन्टेड डाक्टर उमेश प्रधानले जानकारी दिए।

'काठमाण्डौको टिचिङ अस्पतालमा २३ सय तिर्नपर्छ हामी यहाँ विमा गरेका बिरामीलाई १२ र विमा नभएका बिरामीलाई १५ सय शुल्क लिएर इन्डोस्कोपी सेवा दिन्छौ,' उनले भने। डाक्टरहरुको सेवा सुविधा कम हुँदा डाक्टरहरु धेरै बस्न नमानेको भन्दै सेवा निरन्तर सुचारु गर्न राज्यलेनै ध्यान दिनुपर्ने उनको भनाई छ।  

अस्पतालबाट सेवा विस्तार भएको  इन्डोस्कोपी सेवाबाट ग्यास्ट्राइटिस, पेटमा घाउ भएको, पेटको क्यान्सर, विविध कारणबाट रगत उल्टी हुने जस्ता समस्या भएका बिरामीको निदान गर्न सकिने अस्पतालका प्रमुख मेसु डा. प्रधानले जनाए। सेवा लिनका लागि बिरामी खाली पेटमै अस्पताल जानुपर्ने, एचआइभी, हेपाटाइटिस जस्ता रोग नभएको हुनुपर्ने डा. प्रधानको भनाइ छ।

अल्कोहल बढी खाएर वा अन्य कारणले पेटमा क्यान्सर हुने खतरा भएकालाई तुरुन्तै पहिलो चरणको जाँच गर्ने व्यवस्था मिलाइएको अस्पताल विकास मितिका अध्यक्ष प्रलाद पोखरेलले बताए। पेट रोग विशेषज्ञ डा. अस्पतालमै भएको र थप इन्डोस्कोपी सेवा भएपछि बिरामीलाई उपचार गर्न सहज भएको उनले जनाए।  सिन्धुली अस्पतालबाट यो सेवा सुरु भएपछि सेवाग्राहीले धेरै खर्च गरेर काठमाण्डौ लगायत विभिन्न शहर धाउनु नपर्ने विश्वास गरिएको छ।

जिल्ला अस्पतालमा आएको इन्डोस्कोपी मेसिन नयाँ प्रविधिको भएको अस्पतालले जनाएको छ। यो सेवा सँगै सिन्धुली अस्पतालले मुटुको भिडियो, एक्स रे, फोक्सोको जाँच जनरल मेडिसिन सेवा, दन्त चिकित्सक सेवा एड्स तथा यौन रोग सेवा प्रसुती सेवा  लगायतका विशेषज्ञ सेवा दिँदै आएको छ।

प्रकाशित: २७ चैत्र २०७८ ११:५८ आइतबार