स्वास्थ्य

काठमाडौं महानगरपालिकामा मात्रै ६ सय खोप केन्द्र

आजदेखि अभियानका रूपमा सञ्चालन गर्न लागिएको टाइफाइडविरुद्धको खोप कार्यक्रममा सहयोग गर्न काठमाडौं महानगरपालिकाले आफू मातहतका सबै विद्यालयलाई आग्रह गरेको छ।

कामपाको शिक्षा विभागले सूचना जारी गर्दै यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म १५ महिनामाथि १५ वर्षसम्मका उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने कार्यक्रम रहेको छ।

कामपा शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार अभियान सहज होस् भन्नका लागि सामुदायिक र निजी गरी ६ सय विद्यालयमा खोप केन्द्रको व्यवस्था गरिएको छ। अहिले चालु शैक्षिक सत्रको परीक्षा सञ्चालन हुने समय भएकाले परीक्षा सञ्चालन गरिने दिन परीक्षा समयअघि वा पछि अनुकूलता हेरेर अभियान सञ्चालन गर्न पनि भनिएको अधिकारी सुवेदीले बताए।

कम्तीमा २ सय विद्यार्थी भएको प्रत्येक विद्यालयमा केन्द्र सञ्चालन गरिने बताइएको छ। खोप कार्यक्रम सञ्चालन गर्न शहरी स्वास्थ्य केन्द्रबाट स्वास्थ्यकर्मी खटिनेछन्। अभियानको शुभारम्भ प्रधानमन्त्री शेरबहादुर देउवाले गरिसकेका छन्। यस अभियानबाट देशका १५ महिनादेखि १५ वर्ष उमेर समूहका करिब ७५ लाख बालबालिका लाभान्वित हुने बताइएको छ।

राष्ट्रिय खोप कार्यक्रमलाई सरकारको प्राथमिकता एवं जनस्वास्थ्यको सफल कार्यक्रमका रूपमा लिइएको छ। हाल यो कार्यक्रम मार्फत १२ वटा एन्टिजेन समेत समावेश गरी नियमित खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट बालबालिकाको बिरामी दर, अपांगता र शिशु तथा बाल मृत्युदर समेतमा उल्लेख्य कमी आउनसक्ने विश्वास सरकारको छ।

नेपालमा अझै टाइफाइड रोगको उच्च सङ्क्रमण र जोखिम रहनुका साथै अस्पताल भर्ना हुने कारणमध्ये प्रमुख पाँच कारणमा यसलाई लिइएको छ। यो खोप सुरुमा १५ महिनादेखि १५ वर्ष उमेर समूहमा देशैभर अभियान मार्फत सञ्चालन गरी त्यसपछि नियमित खोप मार्फत १५ महिनाका बालबालिकालाई निरन्तर उपलब्ध गराइने भएको छ।  रासस

प्रकाशित: २५ चैत्र २०७८ ०२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App