स्वास्थ्य

वीपी प्रतिष्ठानले चैत १५ देखि स्वास्थ्य वीमाको सेवा नरोक्ने

वीमा बोर्डबाट आयो ३ करोड ५७ लाख बढी रकम

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले चैत १५ गतेदेखि स्वास्थ्य वीमा अन्तर्गत सम्पूर्ण सेवा रोक्ने भनेपनि एक महिनाको लागि सुचारु गर्ने भएको छ।  

स्वास्थ्य वीमाको सेवा नरोक्न चौतर्फी दबाब परेपछि प्रतिष्ठानले चैत १५ गतेदेखि थप एक महिनाको लागि सेवा सुचारु गर्ने भएको हो। प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले सोमबार एक विज्ञप्ती जारी गर्दै समस्या समाधान नभए पनि वीमाको उपचार सेवा एक महिनासम्म सुचारु हुने जानकारी दिएका छन्। प्रतिष्ठानमा आम्दानीको प्रमुख स्रोत महिनौंसम्म शोधभर्ना वापत प्राप्त नहुदा अस्पताल सञ्चालनमा कठिनाइ भएकोले बाध्य भएर सेवा बन्द गर्ने सुचना जारी गरिएको पनि उपकुलपति डा.गिरीले विज्ञप्तीमा प्रष्ट्याएका छन्।

उपकुलपति डा.गिरीले प्रतिष्ठानको समग्र आर्थिक अवस्था, बाध्यतालाई मध्यनजनर गरि आवश्यक समन्वय गरेर प्रतिष्ठान सञ्चालनमा सहयोग गर्न पनि स्थानीय सरकार, नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश सरकारसँग आग्रह गरेका छन्। उनले एक महिनासम्म उपचारको लागि आउने विरामीको स्वास्थ्य उपचार सेवामा कुनै पनि प्रकारको बाधा अवरोध सृर्जना नहुने र सेवा सुचारु हुने पनि बताएका छन्।

स्वास्थ्य वीमा बोर्डबाट शोधभर्ना वापत २६ करोड बढी रकम प्राप्त नभएको र यसले आर्थिक संकटमा परेको भन्दै चैत १५ गतेदेखि स्वास्थ्य वीमा सेवा स्थगन गर्ने प्रतिषठनले निर्णय गरेको थियो। प्रतिष्ठानको प्रमुख आम्दानीको स्रोत विरामीको उपचार सेवा वापतको शुल्क हो। वीमा गरेका सेवाग्राहीहरुको जिरो विलिङ हुने र प्रतिष्ठानले शोधभर्नाको लागि वीमा बोर्डमा आवश्यक कागजपत्र पेश गर्नुपर्ने हुन्छ। बोर्डले दाबी गरे वमोजिम शोधभर्ना रकम भुक्तानी नदिदा बक्यौता २६ करोड बढी पुगेको र संस्था आर्थिक संकटमा पुगेको भन्दै चैत १५ गतेदेखि सेवा रोक्ने चेतावनी पत्र एक महिना अघि नै प्रतिष्ठानले बोर्डलाई पठाएको थियो।  

प्रतिष्ठानमा दैनिक १२ सयदेखि १५ सयको हाराहारीमा स्वास्थ्य वीमा गरेका सेवाग्राहीहरु उपचारको लागि आउने गरेका छन्। यो संख्या दैनिक आउने कुल विरामीको ६० देखि ७० प्रतिशत हो। यसले प्रतिष्ठानको दैनिक आम्दानीमा ५० प्रतिशत प्रभावित हुन पुगेको छ।  

बोर्डबाट ३ करोड ५७ लाख बढी रकम भुक्तानी

वीमा बोर्डले शोधभर्ना वापतको वीपी प्रतिष्ठानलाई ३ करोड ५७ लाख बढी रकम भुक्तानी गरेको छ। सोमबार दिउँसो वीमा बोर्डबाट ३ करोड ५७ लाख ५१ हजार ७ सय ५४ रुपैयाँ प्रतिष्ठानको खातामा जम्मा भएको वीमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदार बसौलाले जानकारी दिए।  

बसौलाका अनुसार बोर्डले चैत ६ गते नै उक्त रकम प्रतिष्ठानलाई पठाएको हो। तर, बैंकबाट प्रतिष्ठानको खातामा जम्मा हुन ढिलाई भएको उनले जानकारी दिए। प्रतिष्ठानलाई थप रकम यसै साता पठाउने पनि उनले बताए। बसौलाका अनुसार प्रतिष्ठानलाई बोर्डले हालसम्म कुल ४९ करोड ३५ लाख २१ हजार ६५३ रुपैयाँ भुक्तानी गरिसकेको छ। त्यसमध्ये पनि चालु आर्थिक वर्षमा मात्र १५ करोड ७७ लाख ९० हजार २ सय ९७ रुपैयाँ भुक्तानी गरेको उनले बताए।  

देशभरका ४४० वटा सेवा प्रदायक अस्पतालहरुलाई शोधभर्ना रकम भुक्तानी गर्नुपर्ने भएकोले दाबी गरेअनुसारको सबै रकम एकैपटक भुक्तानी दिन नसक्ने पनि डा.बसौलाको भनाई छ। उनले भने, ‘वीपी प्रतिष्ठानको बिषयमा आइतबार वीमा बोर्डको बैठकमा गम्भीरतापूर्वक छलफल भयो।’  

बोर्डको बैठकले भुक्तानीको समस्या स्थायीरुपमा हल गर्न डा.भगवान कोइरालाको संयोजकत्वमा ५ सदस्यीय परामर्श समिति पनि गठन गरेको डा.बसौलाले जानकारी दिए। उनले भने,‘देशभरिको सेवा प्रदायकको अवस्था के छ, नागरिकको गुनासो के छ, समस्या के छ भनेर कमिटी गठन गरिएको हो। समस्या बिस्तारै समाधान गर्छौं, गुणस्तर सुधार गर्न लागिर्छौं।’

प्रकाशित: १४ चैत्र २०७८ १४:३१ सोमबार