स्वास्थ्य

नयाँं जीवन पाउने आशमा बस्नेहरुको लस्कर

नेपालमा ब्रेन डेथ (मष्तिष्क मृत्यु) पश्चात् उनीहरुबाट अंग प्राप्त गरी नयाँं जीवन पाउने आशमा बस्नेहरुको लस्कर लामो हुन थालेको छ।

तर, आवश्यक सचेतनाको अभावमा अहिलेसम्म तीन जना ब्रेन डेथ भएका व्यक्तिले मात्रै अंगदान गरेको सरकारी तथ्यांक छ। उनीहरुबाट मिर्गौला ६ जनामा प्रत्यारोपण गरिएको छ भने एक जनाको कलेजो प्रत्यारोपण गरिएको तथ्यांक छ। तथ्यांक अनुसार हालसम्म चार सय जना व्यक्तिहरु ब्रेन डेथ भएकाहरुबाट अंग प्राप्त गरी नयाँं जीवनको पर्खाइमा छन्।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (एसडीटिसी ) दूधपाटी भक्तपुरका प्रमुख कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ ब्रेन डेथ भएका व्यक्तिको अंग प्रत्यारोपणबाट वर्षेनी हजारौ व्यक्तिलाई बचाउने सकिने भए पनि यसमा खासै उपलब्धि हासिल हुन नसकिरहेको बताउँंछन्।

डा. श्रेष्ठका अनुसार नेपालमा हरेक वर्ष तीन हजार भन्दा बढीको मिर्गौला फेल हुने गरेको सरकारी तथ्यांक छ। यस हिसावले वर्षेनी तीन हजारको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने आवश्यकता छ। तर देशभरि मुस्किलले तीन सय जनाको मात्र मिर्गौला प्रत्यारोपण हुन्छ।

ठूलो संख्यामा ब्रेन डेथ (मष्तिस्क मृत्यु) भएका व्यक्तिको मिर्गौला झिकेर जीवित व्यक्तिमा प्रत्यारोपण गर्न सकिए मात्र यो समस्या धेरै हदसम्म हल हुने प्रत्यारोपण विज्ञहरु बताउँँछन्। अमेरिकामा कार्यरत अमेरिकी नेपाली चिकित्सक डा. वाङदी शेर्पाले नेपालमा उचित सचेतनाको अभावमा अत्यन्त न्युनले मात्रै अंगदान गर्ने गरेकोले धेरै पीडितहरु नयाँं जीवन पाउनबाट वञ्चित हुनुपरेकोमा दुःख व्यक्त गर्छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा वर्षमा करिब दुई हजार बढीले सडक दुर्घटनामा परेर ज्यान गुमाउने गरेका छन्। तीमध्ये करिब एक हजारको ब्रेन डेथ हुने गरेको छ। यी एक हजारको मिर्गौलालगायत कलेजो, प्यांक्रियाज, ठूलो आन्द्रा, सानो आद्राजस्ता अंग निकालेर जिवीत व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ। तर यसो हुन सकिरहेको छैन।

जनाइए अनुसार एक जना ब्रेन डेथ भएको व्यक्तिबाट आठ वटासम्म अंग जिवीत व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ। ब्रेन डेथ भएका व्यक्तिको अंगदानमार्फत् प्राप्त हुने अंग जिवीत व्यक्तिमा प्रत्यारोपण गर्न सकिए नेपाल अंग प्रत्यारोपणमा आत्मनिर्भर हुने बताइन्छ।

नेपालमां २०७२ सालमा अंग प्रत्यारोपण ऐन आएको थियो। सो ऐनपछि ब्रेन डेथ भएका व्यक्तिको अंग जिवीत व्यक्तिमा प्रत्यारोपण गर्नसक्ने कानुन आएको हो। पहिले नजिकका नातेदारले मात्र अंगदान गर्नसक्ने कानुन भए पनि अहिले नाता सम्बन्ध पर्ने जोसुकैले पनि अंगदान गर्नसक्ने कानुनी व्यवस्था छ।

सरकारले ब्रेन डेथ भएका व्यक्तिको अंगदान गर्ने व्यवस्था कार्यान्वयनका लागि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (एसडीटिसी) दूधपाटी  भक्तपुरलाई समन्वय केन्द्र तोकेको छ। सरकारले ब्रेन डेथ भएका व्यक्तिको अंगदान गर्ने व्यवस्था गरेपछि त्यसको प्रभावकारी कार्यान्वयन गर्न भक्तपरको दूधपाटीस्थित सो केन्द्रलाई समन्वय केन्द्र तोकेको जनाइएको छ।

कुनै पनि व्यक्तिले आफ्नो मृत्युपछि अंगदान गर्न चाहेको अवस्थामा केन्द्रमा सम्पर्क राखेर इच्छापत्र लिनसक्ने व्यवस्था छ। त्यसका लागि कुनै व्यक्तिको सडक दुर्घटना वा अन्य कारणले ब्रेन डेथ भएको अवस्थामा उक्त व्यक्ति उपचाररत अस्पतालले ब्रेन डेथ भएको घोषणा गरेपछि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको समन्वय एकाइलाई खबर गर्नुपर्छ।

केन्द्रले विज्ञ चिकित्सकिय टोलीले ब्रेन डेथ भएको अस्पतालमा गई ब्रेन डेथ भएका व्यक्तिका आफन्त वा नातेदारहरुसँग सल्लाह गरेर उनीहरुको सहमति प्राप्त भएमा ब्रेन डेथ भएको व्यक्तिको अंग निकालेर अंग प्रत्यारोपण आवश्यक भएको जीवित व्यक्तिमा रोलक्रमका आधारमा प्रत्यारोपण गर्ने गरिन्छ।

प्रकाशित: ७ चैत्र २०७८ १२:४९ सोमबार