उदयपुरस्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरको निर्माणाधीन पक्की भवन अन्तिम चरणमा पुगेको छ। त्रियुगा नगरपालिका १० बोक्सेस्थित पुरानो कार्यालय परिसरमै निर्माणाधीन ३ तले भवन सकिने लागेको हो।
अपाङ्गमैत्री र सुविधासम्पन्न भवनको भौतिक संरचनाको सबै काम सकिइसकेको छ भने वाईरिङ, प्लम्बिङ र फर्निचरको काम मात्र बाँकी रहेको छ। हालसम्म भवन ९० प्रतिशत सम्पन्न भईसकेको विज्ञ केन्द्र प्रमुख डा. अजयकुमार साहले बताए। उनका अनुसार दुई महिनाभित्र भवन बनिसक्ने र कार्यायल नयाँ भवनमा स्थानान्तरण गरेर सञ्चालनको तयारी भईरहेको छ।
भवनको काम दु्रतगतिमा भईरहेको र अन्तिम चरणमा पुगिसेको बताउँदै डा. साहले अव बढीमा दुई महिनाभित्र नयाँ भवनबाट कार्यालय सञ्चालन गर्ने बताए। ‘भवनको भौतिक संरचना निर्माणको सबै काम सकिइसकेको छ। अव भित्री केही कामहरु मात्र बाँकी छन्’ डा.साहले भने ‘वाईरिङ, प्लम्बिङ र फर्निसिङका कामहरु बाँकी छन्, त्यति काम डेढदुई महिनाभित्र सकिन्छ।’
आकर्षक डिजाईनको अत्याधुनिक भवन कार्यालय प्रमु्ख कार्यकक्ष, सभाकक्ष, तीनवटै तलामा पुरुष–महिलाका लागि फरकफरक शौचालय, खानेपानी र कर्मचारीकक्षका लागि प्रसस्त कोठासहितको भवन बनाइएको कार्यालयले जनाएको छ। कार्यालय प्रमुखका लागि आवासका लागि पनि भवनमा कोठा व्यवस्थापन गरिएको छ।
पवित्र निर्माण सेवाले निर्माणको जिम्मा पाएको उक्त भवन मूल्य अभिबृद्धि कर (भ्याट) बाहेक १ करोड ९८ लाख ७७ हजार ५ सय ८२ रुपैयाँ ९ पैसाको हो। भ्याटबाहेक २ करोड ८२ लाख ९० हजार १ सय ५६ रुपैँया ९ पैसाको लागत इस्टीमेट भए पनि निर्माण व्यवसायीहरुबीचको प्रतिस्प्र्धामा पवित्र निर्माण सेवाले झण्डै ३० प्रतिशत कम मूल्यमा टेण्डर हालेर कामको जिम्मा पाएको हो।
दुईवर्षभित्र अर्थात ०७९ असार ७ गते निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी ०७७ असार १२ गते गरेको सम्झौता भए पनि म्याद सकिन ३ महिनाअघि नै भवन सकिन लागेको हो। पवित्र निर्माण सेवाका सञ्चालक केदार दाहालले सम्झौता म्यादभन्दा अगावै भवन बनाईसकेर हस्तान्तरण गर्ने तयारीमा रहेको बताए।
दाहालले आफूले ठेक्का लिएको कुनै पनि योजना सम्झौता अवधिभन्दा अगाडि नै निर्माण सेर हस्तान्तरण गर्ने गरेको दावी पनि गरे। सोही अनुसार पशु विज्ञ केन्द्र भवन पनि सम्झौता म्यादभन्दा २/३ महिनाअघि नै सकेर जिम्मा लगाउने दाहालले बताए। उनले लगातार काम गर्ने अवसर मिल्यो भने १ महिनाभित्रै काम सेर जिम्मा लगाउने बताएका छन्।
विज्ञ केन्द्रका लेखा अधिकृत यादव निरौलाले भवनको निर्माण प्रगति ९० प्रतिशत सम्पन्न भईसकेको तर, भुक्तानी भने १ करोड ५० लाख हाराहारी मात्र भएको बताए। काम सम्पन्न भएको प्राविधिक रिपोर्ट र बील भर्पाईका आधारमा भुक्तानी हुने गरेको अधिकृत निरौलाले बताएका छन्।
प्रकाशित: ११ फाल्गुन २०७८ ०७:०७ बुधबार