स्वास्थ्य

भक्तपुरको ख्वप अस्पताल सञ्चालनमा

अस्पतालको अवलोकन गर्दै बागमति प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसहितको टोली।

भक्तपुरको ख्वप अस्पताल सञ्चालनमा ल्याइएको छ। लामो प्रतिक्षापछि ब्रम्हायणीस्थित कोभिड युनिटको भवनबाट ख्वप अस्पतालले अन्तरङ्ग सेवा सुरु गरेको हो। कोभिड महामारीको समयमा ख्वप अस्पताल कोभिड युनिटको रुपमा सञ्चालित उक्त भवनबाट ख्वप अस्पतालले अन्तरंग सेवा सुरु भएको हो।

ख्वप अस्पतालको भवन निर्माण अन्तिम चरणमा छ। भक्तपुर नगरपालिका वडा नं ९ च्याम्हासिंहमा भवन निर्माण कार्य झण्डै सकिने अवस्थामा छ। यही कारण हाललाई ब्रम्हायणीस्थित भवनबाट भए पनि सेवा सुरु गरेको हो। लामो तयारीपछि भक्तपुर नगरपालिकाले अस्पताल सञ्चालनमा ल्याएको हो।

नगर प्रमुख सुनिल प्रजापतिले नगरवासीहरूको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै भक्तपुर नपाद्वारा सञ्चालित ख्वप अस्पताललाई १०० शैयाको बनाउने तयारी गरिरहेको जनाए। हाल ख्वप अस्पतालले बहिरंग सेवामार्फत् दैनिक ५०० देखि ६०० जनाभन्दा बढी विरामीहरूलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको उनले जनाए।

अस्पतालले ५ शैयाको आइसीयु र २५ शैयाको एचडीयुसहित बिरामी भर्नासमेत सुरु गरेको उनले जनाए। हाल ख्वप अस्पतालबाट इन्टरनल मेडिसिन, हाडजोर्नी, स्त्री रोग, बाल रोग, दन्त रोग, नाक–कान–घाँटी, छाला लगायतमा विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ।

ख्वप अस्पतालले आ.व. २०७७/७८ मा ४० जिल्लाका एक लाख १२ हजार २२ जनालाई स्वास्थ्य उपचार सेवा प्रदान गरिसकेको तथ्यांक छ। आर्थिक एक वर्ष २०७८/७९ को ६ महिनामा ८३ हजार दुई सय ३५ जनालाई उपचार सेवा प्रदान गरेको तथ्यांक अस्पतालसँंग छ।  

अस्पतालले दैनिक ११ घण्टा ओपिडी सेवा प्रदान गर्दै आएकोमा सार्वजनिक विदाका साथै शनिबारमा समेत सो सेवा प्रदान गर्दै आएको छ। साथै वडा वडामा स्वास्थ्य केन्द्रहरू निर्माण गरी नगरवासीहरूलाई छिटोछरिटो स्वास्थ्य सेवा प्रदान गर्ने नीति अनुसार भक्तपुर नपा वडा नं. २ व्यासी, वडा नं. ५ भगवति स्थान र वडा नं. १ सल्लाघारीमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गरी सेवा प्रदान गर्दै आएकोमा वडा नं. १० मा पनि आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण भइरहेको अस्पतालले जनाएको छ।

यसैवीच वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले ख्वप अस्पताललाई १०० शैया क्षमताको स्वीकृति प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्। भक्तपुर नगरपालिकाका विभिन्न क्षेत्रहरुको स्थलगत अवलोकन गर्दै मुख्यमन्त्री पाण्डेले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई १०० शैय्या क्षमताको स्वीकृति प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

साथै, अस्पताल सञ्चालन तथा व्यवस्थापनको लागि स्वास्थ्य उपकरण तथा सामाग्रीहरु व्यवस्था गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे। त्यस क्रममा उनले स्थानीय तहले त्यसअन्तर्गत ख्वप विश्वविद्यालय सञ्चालन गर्न सकिने धारणा व्यक्त गरे।

कार्यक्रमपश्चात मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले भक्तपुर नपाद्वारा सञ्चालित ख्वप मावि, ख्वप कलेज, ख्वप अस्पताल, श्वासप्रश्वास पुनःस्थापना केन्द्र, ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङको अभिरुचिपूर्वक स्थलगत अवलोकन भ्रमण गरेका थिए।

प्रकाशित: २ फाल्गुन २०७८ १३:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App