स्वास्थ्य

थानकोटमा एक अर्बको लगानीमा विशेषज्ञ सेवा अस्पताल बन्ने

चन्द्रागिरि नगरपालिका वडा ४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण हुने भएको छ। यसका लागि स्वास्थ्य तथा जनसङ्ख्यालाई जर्मन विकास बैंक(केएफडब्लु)रु. एक अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोग गर्नेछ।

सो सहयोगमा मन्त्रालय, नगर प्रमुख घनश्याम गिरी र बैंकका प्रतिनिधिका बीचमा हालै प्रारम्भिक सम्झौता समेत भइसकेको छ। सम्झौताका अनुसार अस्पताल चार वर्षभित्रमा सम्पन्न हुने जनाइएको छ। नगरपालिकाको समन्वय र सहकार्यमा मन्त्रालय र केएफडब्लुले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयारी अन्तिम चरणमा पुर्‍याएका छन्।

नगरप्रमुख गिरीले भने,‘ डिपिआरको काम सम्पन्न भएसँगै भवन पूर्वाधारको काम अगाडि बढ्छ। निर्धारित समयभित्र अस्पताल बनाउन नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्छ। यस क्षेत्रमा जनशक्ति, उपकरण र पूर्वाधारमा अस्पताललाई उत्कृष्ट बनाउँछौं। नगरवासीले चाहेको गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध छ।’

अस्पतालले काठमाडौँ जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतङ्गल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङ बासिन्दालाई विशेष सुविधा पुर्‍याउने छ। साथै धादिङ, मकवानपुर र नुवाकोट बासिन्दालाई पनि सहज विशेषज्ञ चिकित्सक सेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका मातहतमा सो अस्पताल सञ्चालन हुने जनाइएको छ। विसं २०७६ वैशाख २८ देखि चन्द्रागिरि–४ थानकोटमा नै १५ शय्याका अस्पताल सञ्चालनमा आइसकेको छ। प्रयोगशाला, आकस्मिक सेवा र बर्थिङ सेन्टरसहितको उत्कृष्ट सेवा अस्पतालले प्रदान गरिराखेको छ।

अस्पताललले पछिल्लो समय विशेषज्ञ मुटु रोग सेवा, परिवार नियोजन सेवा, ज्येष्ठ नागरिक, विपन्न तथा अपाङ्गता भएकालाई निःशुल्क सेवा प्रदान गरिराखेको  अस्पतालका मेडिकल अधिकृत डा हेमनाथ शर्माले बताए। उत्कृष्ट कार्यसम्पादन गरेबापत नगरपालिकाको तर्फबाट हालै रु ५० हजार नगद पुरस्कार तथा सम्मानपत्र पाएको उनले भने, ‘प्रयोगशाला,  उपकरणसहित अस्पतालले उत्कृष्ट सेवा प्रदान गरिराखेको छ।’

महामारी नियन्त्रणमा उदाहरणीय प्रयास

कोभिड–१९ को महामारीबाट नगरवासीलाई जोगाउन नगरपालिकाले उत्कृष्ट सेवा प्रदान गरेको थियो। नगरप्रमुख गिरीले भने, ‘महामारीका सुरुआती दिनमा नै उपत्यका भित्रिने प्रमुख नाका नागढुङ्गामा कोरोना जाँच तथा यातायातका साधनलाई ‘डिसइन्फेट्यान्ट’ गर्ने काम थालनी भयो। यसबाट कोरोना जोखिम न्यूनीकरणमा सहयोग  पुग्यो।नगरभित्रका सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्यौँ। चार स्थानमा होल्डिङ सेन्टर बनाई सेवा प्रदान गर्ने काम भयो। स्वाब सङ्कलनमा नगरपालिकाले सशस्त्र प्रहरी बल अस्पताल बलम्बुलाई सहयोग गर्‍यो।  माक्स, स्यानिटाइजर वितरण गर्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न नगरवासीलाई जानकारी दिए। यसबाट कोरोना नियन्त्रणमा सहयोग पुग्यो।’

नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारीअनुसार  नगरपालिकाले एन्टिजेन र पिसिआर गरी १० हजार ३७५ को निःशुल्क परीक्षण गर्न सहयोग पुर्‍याएको छ। हालसम्म नगरमा आठ हजार ५८७ कोरोना पोजेटिभ देखिएकामा आठ हजार ४०० निको भएका र १०० होमआइसोलेसनमा रहेका जनाइएको छ।

महामारीको पहिलो र दोस्रो लहरका समयमा नगरपालिकाले आफ्नो एम्बुलेन्स मार्फत निःशुल्क सेवा प्रदान समेत गरेको थियो। पछिल्लो समय कोरोनाविरुद्धको खोप लगाउन नगरपालिकाले घरदैलो अभियान सञ्चालन गरी खोप कार्यक्रम सञ्चालन गरिराखेको छ।

नगरप्रमुख गिरीले भने, ‘कोरोना विरुद्धको खोप सबै नगरवासीका पाखुरासम्म पुर्‍याउन मैले उच्च प्राथमिकतामा राखेको छु। सबै वडाका स्वास्थ्यचौकी, विद्यालय तथा अस्पतालमा खोप सेवा जारी छ। म हरेक दिन खोप केन्द्रको निरीक्षण गर्छु। खोपको अभाव हुन दिएको छैन।’ उनी कोरोनाबाट सङ्क्रमित थिए।

नगरपालिकाले स्थानीय बजेट मार्फत १५ वटै वडामा स्वास्थ्य प्रवर्द्धन गर्न रु. चार लाख विनियोजन समेत गरेको छ।  यस्तो बजेट विनियोजन गर्ने चन्द्रागिरि पहिलो भएको बताइएको छ। प्रमुख प्रशासकीय अधिकृत नीरज पौडेलले नगरपालिकाले स्वास्थ्य सेवामा लगानी वृद्धि गर्दै जाने नीति लिएको बताए।

नगरपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेव जगदिश्वरी अवस्थी पाण्डेका अनुसार नगरपालिकाले एक सहरी स्वास्थ्य केन्द्र, एक अस्पतालसहित १० स्वास्थ्यचौकी मार्फत स्वास्थ्य सेवा प्रदान गरिराखेको छ। यी स्वास्थ्य संस्थामा सरकारको मापदण्डअनुसारका प्रयोगशालाको पनि सुविधा छ। उनले भने, ‘समग्र स्वास्थ्यको  सूचाङ्ककमा चन्द्रागिरिको नगरपालिकाको अवस्था सुदृढ देखिन्छ।’ रासस

प्रकाशित: २ फाल्गुन २०७८ ०२:२६ सोमबार

कोरोनाविरुद्धको खोप नगरपालिकाको समन्वय र सहकार्य थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल केएफडब्लु