स्वास्थ्य

उपत्यकामा फोक्सो र प्रदेश २ मा मुखकाे क्यान्सरका बिरामी बढी

जनसंख्यामा आधारित क्यान्सर रजिष्ट्रीको प्रारम्भिक नतिजा अनुसार नेपालमा पुरुषमा फोक्सो र मुखको क्यान्सर बढी भएको औल्याएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको जनसंंख्यामा आधारित क्यान्सर रजिष्ट्रीले यी दुई क्यान्सर पुरुषमा बढी रहेको औल्याएको हो।

नेपालमा सन् २०१८ जनवरीदेखि जनसंख्यामा आधारित क्यान्सर रजिष्टरी सुरु भएको हो। तर छिमेकी देश भारत र चीनमा भने २० वर्ष पहिला नै रजिष्ट्री सुरु भएको थियो।

प्रारिम्भक रिपोर्ट अनुसार काठमाडौ उपत्यकामा पुरुषमा बढी फोक्सोको क्यान्सर र प्रदेश २ का चार जिल्लाहरुमा मुखको क्यान्सर बढी पाइएको हो। जनसंख्यामा आधारित क्यान्सर रजिष्ट्री सन् २०१९ जनवरीदखि डिसेम्वर एकभित्रको अवधिमा गरिएको रजिष्ट्रीमा यी दुई क्यान्सर बढी देखिएको हो। परिषदले शुक्रबार रजिष्ट्रीको प्रारिम्भक तथ्यांक संचारकर्मी समक्ष सार्वजनिक गरेको हो।

उपत्यकामा पुरुषमा फोक्सोको क्यान्सरपछि पेट, कोलोन, प्रोस्टेट क्यान्सर बढी पाइएको छ भने महिलामा स्तन, फोक्सो, पाठेघर र पित्तथैलीको क्यान्सर बढी पाइएको छ। त्यसैगरी प्रदेश २ का मुख्य चार जिल्लाहरुमा पुरुषमा मुखको क्यान्सरपछि पेट र पित्तथैली र कलेजोको क्यान्सर बढी पाइएको छ। महिलामा भने फोक्सो, स्तन, पाठेघर र अण्डाशयको क्यान्सर बढी पाइएको छ।  

रजिष्ट्रीमा सहभागी रुकुम पश्चिम र पूर्व जिल्लाहरुमा पुरुष र महिला दुवैमा फोक्सोको क्यान्सर बढी देखिएको छ। पुरुषमा फोक्सोपछि पेट, पित्तथैली र थाइराइड क्यान्सर बढी पाइएको छ। महिलाहरुमा भने फोक्सोपछि स्तन, पाठेघर र अण्डाशयको क्यान्सर बढी पाइएको छ।

निश्चित क्षेत्रमा नयाँ क्यान्सरका बिरामी र क्यान्सरको स्थिति प त्ता लगाइ सो अनुसारको रोकथाम तथा जनचेतनामुलक कार्यक्रम चलाउने उद्देश्यले नेपालमा रजिष्ट्री सुरु गरिएको हो। यो हिसावले काठमाडौ उपत्यकामा प्रति १ लाखमा ८६.७ जना नयाँ क्यान्सरका पुरुष पत्ता लागेका छन् भने ९०.८ जना महिलामा नयाँ क्यान्सर पत्ता लागेको थियो। क्यान्सरबाट हुने मृत्युदरमा पनि उपत्यकामा प्रतिशत १ लाखमा ४२.१ जना पुरुषको क्यान्सरबाट मृत्यु भएको छ भने पुरुषको तुलनामा महिलाको मृत्युदर कम पाइएको छ। जसमा क्यान्सरबाट मृत्यु हुने महिलामा प्रति एक लाखमा ३४.३ जना छन्।

रुकुम पूर्व र रुकुम पश्चिममा प्रति एक लाखमा ५२.२ जना नयाँ क्यान्सरका पुरुष बिरामी पत्ता लागेका थिए भने ४७.३ जना महिलामा नयाँ क्यान्सर पत्ता लागेको थियो। यो क्षेत्रमा क्यान्सरको कारण प्रति एक लाखमा २४ जना पुरुषको मृत्यु भएको थियो भने १९.९ जना महिलाको मृत्यु भएको थियो।  

तराइका चार जिल्लाहरुमा सन् २०१९ भित्र नयाँ क्यान्सरको पत्ता लाग्ने पुरुषहरुमा प्रति एक लाखमा ४७.८ जना छन् भने नयाँ क्यान्सर पत्ता लागेका महिलाहरु ४९ जना थिए। त्यसैगरी यो क्षेत्रमा प्रति एक लाखमा क्यान्सरबाट मृत्यु हुनेको संख्या २४ जना छन् भने महिला १९ जना छन्। तथ्याकं अनुसार त्यो वर्ष क्यान्सरवाट मृत्यु हुनेको सख्या काठमाडौ उपत्यकामा ८ सय ४७ जना, तराइका चार जिल्लामा ५ सय ३३ र रुकुममा ४७ जना गरी १२ सय ४७ जनाको मृत्यु भएको छ। त्यसैगरी त्यो वर्ष उपत्यकामा २ हजार १९ जना, तराइका चार जिल्लामा ११ सय ८८ जना र रुकुम पूर्वपश्चिममा ८८ जना गरी ३२ सय ९५ जनामा नयाँ क्यान्सर पत्ता लागेको थियो।

नेपालमा क्यान्सरको प्रबृत्ति हेर्दा सवै क्षेत्रमा फोक्सो, पाठेघर र स्तन क्यान्सर साझा देखिएको छ। यसबाहेक पेट, पित्तथैली, कलेजो, अण्डाशय, मुख र मलद्धारको क्यान्सर पनि उत्तिकै मात्रामा बढिरहेको रजिष्ट्रीले औल्याएको छ।  

प्रारिम्भक नतिजा अनुसार परिषदले सरकारलाई नेपालमा क्यान्सर नियन्त्रण तथा रोकथामको लागि केही सुझाव समेत पेश गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लागू गर्ने गरी राष्ट्रिय क्यान्सर रणनीति बनाइ लक्षित क्षेत्रमा कार्यक्रम संचालन गर्ने, क्यान्सर सम्वन्धी जनचेतनामुलक कार्यक्रम संचालन गर्ने, ग्रामिण तथा अर्धसहरी क्षेत्रमा क्यान्सरको प्राम्भिक खोजी केन्द्रको स्थापना गर्ने, क्यान्सर रेकर्ड व्यवस्थापनलाई हरेक प्रदेशमा आधारित क्यान्सर रजिष्ट्री गर्ने लगायतको सुझाव पेश गरेको छ।

नेपालमा क्यान्सर रजिष्ट्रीको लागि विश्व स्वास्थ्य संगठन, इन्टरनेशनल एजेन्सी फर रिसर्जच अन क्यान्सरको सहयोगमा सुरु भएको थियो। यो जनसख्यामा आधारित क्यान्सर रजिष्ट्रीले क्यान्सरको समयमै पहिचान र क्यान्सरको स्थिति कता जाँदैछ भन्ने कुरा पत्ता लगाइ सो अनुसार राज्यलाई रणनीति तयार गर्नमा सहयोग पुगोस भन्ने हो।  

नेपालमा क्यान्सर उपचारमा संलग्न हुँदै आएका बिभिन्न क्यान्सर अस्पतालहरु नेपाल क्यान्सर अस्पताल, भरतपुर क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, काठमाडौ क्यान्सर अस्पताल, नेपाल मेडिसिटी अस्पताल, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेशनल क्यान्सर अस्पतालमा उपचारमा पुगेका बिरामीलाई रजिष्टरी गरिएको थियो भने । अन्य क्षेत्रका स्थानीय स्वास्थ्य संस्था र स्वास्थ्य स्वयंसेविका र उनीहरु उपचारमा पुग्ने अस्पतालहरुवाट तथ्यांक रजिष्ट्री गरिएको थियो।  

विश्वमा नसर्ने रोग मध्येमा क्यान्सर वृद्धि हुँदै गएको र क्यान्सरले हुने मृत्यु पनि प्रतिवर्ष बढ्दै गइरहेको छ। नेपालमा सन् २०२० को अनुमानित तथ्यांक अनुसार प्रति वर्ष २० हजार ५ सय ८ जना नयाँ क्यान्सरका बिरामी छन् भने १३ हजार ६ सय २९ जनाको क्यान्सरको कारण मृत्यु हुनेको गरेको छ।

प्रकाशित: २३ माघ २०७८ १३:३५ आइतबार