स्वास्थ्य

कोरोनाबाट थप १४ जनाको मृत्यु

गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। थप मृतकसहित एक सातामा नेपालमा ९५ जनाको मृत्यु भएको छ।

नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ७ सय ९४ पुगेको छ। गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणदर २२.८ प्रतिशत रहेको छ। यो दर अघिल्लो दिनको तुलनामा करिब ३ प्रतिशतले कम हो। एक सातामा संक्रमणदर १० प्रतिशत विन्दुले घटेको छ।

गत २४ घण्टामा परीक्षण भएका कुल ११ हजार ७ सय ७३ वटा नमुनामध्ये २ हजार २ सय ५६ जनामा कोरोना पुष्टि भएको छ। सोही अवधिमा निको हुनेको संख्या पनि ८ हजार ४ सय २५ छ।  

नयाँ संक्रमितसहित हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५६ हजार ४ सय ४७ छ। तीमध्ये ५५ हजार ९० जना होम आइसोलेसनमा छन् भने १ हजार ३ सय ६७ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ। गम्भीर समस्या भएका २ सय ४३ जनाको आइसियुमा र ५१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रकाशित: २२ माघ २०७८ ०१:२९ शनिबार

कोरोना संक्रमण स्वास्थ्य तथा जनसंख्या मन्त्रालय