स्वास्थ्य

ओमिक्रोन भाइरस १९३ घण्टासम्म बाँच्न सक्ने

कोरोना भाइरसका अन्य भेरियन्टभन्दा ओमिक्रोन प्लास्टिकको सतह र मानिसको छालामा धेरै समयसम्म बाँच्न सक्ने अनुसन्धानबाट देखिएको छ। जापानका अनुसन्धानकर्ताले गरेको परीक्षणअनुसार प्लास्टिक सतहमा ओमिक्रोन सरदर १९३.५ घण्टासम्म बाँच्न सक्ने देखिएको हो।

त्यस्तै कोरोनाका अल्फा, बेटा, गामा र डेल्टा भेरियन्ट क्रमशः ५६, १९१.३, १५६.६, ५९.३ र ११४ घण्टासम्म प्लास्टिक सतहमा बाँच्न सक्ने देखिएको छ। बाह्य वातावरणमा धेरै समयसम्म बाँच्न सक्ने क्षमता राख्ने भएकाले ओमिक्रोन भेरियन्टको प्रसारण तीव्र भएको र यसले अन्य भेरियन्टलाई प्रतिस्थापन गरेको अनुसन्धानकर्ताले बताएका छन्।

यसैगरी मानिसको छालामा ओमिक्रोन २१.१ घण्टासम्म बाँच्च सक्ने देखिएको छ। कोरोना भाइरसको सुरुको भेरियन्ट ८.६, अल्फा भेरियन्ट १९.६, बेटा भेरियन्ट १९.१, गामा भेरियन्ट ११ र डेल्टा भेरियन्ट १६.८ घण्टासम्म मानिसको छालामा बाँच्न सक्ने पाइएको छ।

मानिसको छालामा अल्कोहलमा आधारित ह्यान्ड स्यानिटाइजर प्रयोग गर्दा कोरोनाका सबै भेरियन्ट १५ सेकेन्डमा निष्क्रिय हुने देखिएको छ। अनुसन्धान नतिजाले भाइरस संक्रमण हुन नदिन हातको सरसफाइको महत्व अधिक  देखाएको छ।  

भाइरसको एन्टिजेन विधिबाट परीक्षण गर्दा घाँटीबाट भन्दा नाकबाट लिइने स्वाबले राम्रो नतिजा दिने पाइएको छ। केही साताअघि अमेरिकाको सनफ्रान्सिस्कोमा ७३१ नमुनामा गरिएको पिसिआर र एन्टिजेन परीक्षणले पनि नाकबाट लिइएको स्वाबले ९५ प्रतिशतभन्दा बढी प्रभावकारी नतिजा दिएको पाइएको थियो। विभिन्न अध्ययनले कोरोनाका अन्य भेरियन्टको  तुलनामा ओमिक्रोन कमजोर रहेको देखाएका छन्। (रोयटर्स)

प्रकाशित: १२ माघ २०७८ ०५:३७ बुधबार

ओमिक्रोन भाइरस