स्वास्थ्य

कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री जुटाइँदै

जुम्लामा कोरोना कहरको तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री जुटाउन थालिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिले कोरोना संक्रमणले हुन फैलन नदिन स्वास्थ्य सामग्री संकलन तथा परिचालनमा जोड दिइएको हो।  

कोरोना संक्रमणको पहिलो लहरमा स्वास्थ्य सामग्री केही अभाव देखिएको थियो। दोस्रो लहरमा खासै अभाव भएन। तेस्रो लहरमा पनि स्वास्थ्य सामग्री संकलन तथा प्रयोगलाई जोड दिन गैरसरकारी संस्थासँग पहल शुरु भएको प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले जानकारी दिइन्। उनले भनिन्,‘कोरोना सबैको साझा सत्रु हो। सबै मिलेर परास्त गर्नुपर्छ। कोरोनामुक्त जुम्ला बनाउनको लागि हातेमालो गर्नुपर्छ। ’

जिल्ला व्यवस्थापन व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईको अध्यक्षतामा बसेको बैठकले विपद प्रतिकार्यका क्षेत्रमा जिल्लामा कार्यरत गैरसरकारी संस्थाहरुलाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गर्न आग्रह गर्ने  निर्णय समेत गरिएको छ।  

अक्सिजन सिलिण्डर, मास्क, सेनिटाइजर, पिपिईसेटसहितका स्वास्थ्य सामग्री अभाव भएकाले गैरसरकारी संस्थाहरुलाई संकलनका लागि आग्रह गरिएको हो।  

बैठकमा विपदसँग कार्यरत गैरसरकारी संस्थाहरुले विपदको समयमा कोभिड १९ संकट व्यवस्थापन समितिले गरेको निर्णय र मागलाई माथिल्लो निकायमा पेश गर्न सहमति जनाएका छन्। जिल्लामा विपदको क्षेत्रमा कार्यरत संस्थाहरु आईएनएफ नेपाल, पेस नेपाल, किर्डाक नेपाल, सेडा नेपाल, क्याड नेपालसहितका संस्थाहरुले आपसी समझदारीका आधारमा कोरोना संक्रमणविरुद्ध अभियानमा लाग्ने बताएका छन्।  

बैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले गैससले संकटको अवस्थामा कार्यक्षेत्र नभनि जिल्लाभर काम गर्ने गरी स्वास्थ्य सामग्री तथा अन्य कार्यक्रम गर्न निर्देशन दिए। उनले विपदमा लगानीकर्ता र दातालाई समेत जिल्लाको विपद व्यवस्थापन समितिको निर्णयलाई मान्न अनुरोध गरे। उपप्रमुख बुढाले भने,‘कोरोना संक्रमण फैलँदो अवस्थामा छ। तत्काल सबै मिलेर रोकथाम तथा नियन्त्रणमा लाग्नु अहिलेको अपरिहार्यता हो। ’

जिल्लामा मौज्दात सामग्री सबै तत्काल वितरण गरिने र बाँकी गैससले सहयोग समेत गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रसाईले जानकारी दिए।  

पछिल्लो समयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले एन ९५ मास्क, डिस्पोजल मास्क, पिसिआर किट, पिपिई, एन्टिजेन किट कमी भएको जानकारी प्राप्त भएको स्थानीय प्रशासनले जानकारी दिएको छ। सोही अनुसार आवश्यक सामग्री सहयोग गर्न गैसस क्षेत्रलाई सहयोग गर्न माग भएको छ।

दोस्रो लहरको समयमा गैसस क्षेत्रले ठूलो मात्रामा अक्सिजन सिलिण्डर, मास्कसहितका स्वास्थ्य सामग्री जिल्ला विपत व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको थियो। जसले आधारभूत स्वास्थ्य सामग्रीको जुम्लामा अभाव थिएन। विपद व्यवस्थापन समितिले दोस्रो लहरमा आवश्यकता अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्थानीय स्वास्थ्य संस्था, अग्रस्थानमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, संचारकर्मीलाई समेत वितरण गरिएको थियो।

जिल्ला प्रशासनमा भने गत वर्ष संकलन गरिएका स्वास्थ्य सामग्रीको मौज्दात जानकारी गरेको छ। प्रशासनका अनुसार ३० वटा अक्सिजन, ८ वटा अक्सिजन कन्सन्ट्रेटर, १५० प्याकेट मास्क, २ सय बोतल सेनिटाइजर, पिपिइ सेट २०० थान, पिपिइ गाउन २५० सेट मौज्दात रहेको छ।

पछिल्लो समयमा स्थानीय सरकार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा मौन देखिएपछि समस्या भएको छ। हाल स्थानीयतहसँग कोरोना रोकथामको कुनै योजना छैन।

प्रकाशित: ११ माघ २०७८ १४:४९ मंगलबार