स्वास्थ्य

‘अनिवार्य मास्कको प्रयोग गरौं’ अभियान सुरु

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक बसका चालक, सहचालक र यात्रुलाई लक्षित गरी ‘अनिवार्य मास्कको प्रयोग गरौं’ अभियान सुरुवात गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा बिहीबारदेखि न्युरोड गेटबाट अभियान सुरुवात गरेको हो। अभियानको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशी र महासंघका महासचिव सरोज सिटौलाले सार्वजनिक सवारीसाधनमा जनचेतनामुलक पर्चा टाँसेर सुरुवात गरेका हुन्।

कार्यक्रममा महाशाखाका प्रमुख जोशीले मुलुकमा कोरोनाको तेस्रो लहर तीव्रगतिमा बढिरहेको बेलामा सार्वजनिक यातायातबाट हुनसक्ने संक्रमण रोक्नका लागि अभियान सुरुवात गरिएको बताए। सुरुको चरणमा १५ हजार सार्वजनिक सवारी साधनमा जनचेतनामुलक अभियान सञ्चालन गर्ने महाशाखाले जनाएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौलाले तेस्रो चरणको कोरोना संक्रमणका कारण यातायात मजदूर तथा यात्रुलाई थप क्षति नपुगोस् भन्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरेको जानकारी दिए। उनले देशभरका यातायात मजदूरलाई अनिवार्य रूपमा मास्कको प्रयोग गर्नसमेत आग्रह गरेका छन्।

प्रकाशित: ७ माघ २०७८ ०२:३९ शुक्रबार