स्वास्थ्य

उदयपुरमा बुस्टर डोज लगाउन सुरु

जिल्ला अस्पताल उदयपुर।

उदयपुरमा कोभिडविरुद्ध बुस्टर डोज लगाउन सुरु भएको छ। स्वास्थ्य कार्यालय उदयपुरले जिल्लाका ८ वटै स्थानीयतहका अस्पताल, स्वास्थ्य चौकी तथा सदरमुकामस्थित जिल्ला अस्पतालबाट बुस्टर डोज खोप दिन थालेको हो।

माघ ४ गतेदेखि दिन थालिएको बुस्टर खोप आउँदो १० गतेसम्म सुचारु रहने स्वास्थ्य कार्यालय प्रमुख बृजकुमार दासले बताए। उनका अनुसार ४ गतेदेखि सुरु चौदण्डीगढी नगरपालिकाको नगर अस्पताल तथा स्वास्थ्य चौकीमार्फत ५ गतेसम्म दिने काम भईरहेको छ।

त्यस्तै त्रियुगा नगरपालिकामा ५ र ६ गते दिइने छ भने उदयपुरगढी गाउँपालिका र कटारी नगरपालिकामा ६ र ७ गते दिने कार्यक्रम छ। उता ताप्ली गाउँपालिका, बेलका नगरपालिका, रौतामाई र लिमचुङबुङ गाउँपालिकामा ९ र १० गते बुस्टर डोज दिने कार्यक्रम छ। त्यस्तै ४ गतेदेखि नै सुरु भएको जिल्ला अस्पतालमा ७ गतेसम्म खोप दिने कार्यक्रम रहेको प्रमुख दासले बताए।  

पछिल्लो समय ओमिक्रोन भेरिएन्टको संक्रमण ह्वात्तै बढेपछि सतर्कता अपनाउन बुस्टर डोज दिन लागिएको जिल्ला कोविड शंकट व्यवस्थापन समिति (डिसिसिएमसी) उदयपुरले जनाएको छ। प्रमुख जिल्ला अधिकारी तथा डिसिसिएमसी अध्यक्ष वीरेन्द्रकुमार यादवको अध्यक्षतामा माघ ३ गते बसेको बैठकले बुस्टर डोज दिने निर्णय गरेको हो।

पहिलो चरणमा अग्रपंतिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, पत्रकार, ६५ वर्षमाथिका जेष्ठ नागरिक तथा १८ वर्षमाथिका दीर्घरोगीलाई खोप दिने कार्यक्रम रहेको स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर चिरञ्जिवी निरौलाले बताए।

उनका अनुसार बुस्टर डोज खोप पाउन गत असारमा दोस्रो मात्राको खोप लिइसकेको हुनुपर्ने प्रावधान छ। कोभिसिल, भेरोसिल र एस्ट्राजेनिका खोपको दोस्रो मात्रा हानेको ६ महिना पुरा भईसकेकाले मात्र बुस्टर डोज पाउनेछन्।

प्रकाशित: ५ माघ २०७८ ०६:४१ बुधबार