स्वास्थ्य

गोरखामा बुस्टर डोज खोप सुरु भएन

सरकारले माघ २ गतेबाट बुस्टर डोज (कोरोनाविरुद्धको तेस्रो मात्रा) खोप सबै जिल्लामा सुरु गर्ने भनेपनि गोरखामा सुरु भएको छैन। बुस्टर डोज खोप स्वास्थ्य कार्यालयमै आई नपुगेको कार्यालय प्रमुख विद्या तामाङले बताइन्।  

‘एक त खोप आएको छैन, कति चाहिन्छ भन्ने पनि थाहा छैन’, उनले भनिन्। कुन पालिकामा बुस्टर डोज लगाउनुपर्ने मानिस कति छन् भन्ने यकिन तथ्याङ्क नै आई नसकेको उनले बताइन्। ‘सोमबार बेलुकीसम्म तथ्याङ्क आयो भने मंगलबार कि बुधबार खोप ल्याउन सकिन्छ’, उनले भनिन्।  

खोप ल्याएपछि पनि तत्काल लगाउन सुरु हुने देखिँदैन। किनभने गोरखामा बालबालिकाको मोडर्ना खोप लगाउने कार्यक्रम माघ दोस्रो सातासम्म चलिरहन्छ। केही ठाउँमा भने आइतबारबाट बुस्टर डोज लगाउन थालिएको छ। गोरखामा भने बुस्टर डोज लगाउने मिति अझै तय भएको छैन।  

कोभिड १९को पहिलो चरणको मात्रा पूरा गरि छ महिना पुगेकालाई बुस्टर डोज खोप लगाउन योग्य मानिन्छ। कसले कहिले मात्रा पूरा गरे र त्यस्ता मानिस कति छन् भन्ने यकिन पालिका र स्वास्थ्य कार्यालयसँग नहुँदा खोपमा ढिलाई भएको हो। यसअघि पहिलो र दोस्रो मात्रा लगाउँदाको रेकर्ड व्यवस्थित छैन।

अहिले पालिकाहरुले बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा दिँदैछन्। ‘खोप अभियान चलिरहेकाले पनि बुस्टर डोजको काम गर्न समस्या भएको छ’, स्वास्थ्य कार्यालयकी प्रमुख तामाङले भनिन्।  

गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले बुस्टर डोज खोप उपलब्ध गराएको खण्डमा कर्मचारी व्यवस्थापन गर्न सकिने बताए। ‘नियमित खोप, बालबालिकाको खोप चलिरहेको छ’, उनले भने, ‘तर पनि हामी यसलाई व्यवस्थापन गर्न सक्छौँ।’ स्वास्थ्य कार्यालयले सबै पालिकामा एकै साथ अभियान चलाउने योजना बनाएको छ। यसका कारण पनि बुस्टर डोज गोरखामा ढिला हुने देखिन्छ।

प्रकाशित: २ माघ २०७८ १०:४५ आइतबार