स्वास्थ्य

बाँकेमा बढ्दै कोरोना, जमुनाहा नाकामा एकैदिन ३९ जनामा संक्रमण

बाँकेस्थित नेपाल–भारत सिमा नाका जमुनाहामा ३९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। उक्त नाकामा शंकास्पद ६ सय ७५ जनाको कोभिड एन्टिजेन परीक्षण गर्दा १३ जना पुरुष र २६ जना महिलासहित ३९ जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए।

संक्रमण देखिएका सबैलाई नेपालगन्जस्थित बाल मन्दिरको आइसोलेसनमा राखिएको उनले बताए। उक्त नाकामा यही पुस १९ गते ९ जना, पुस २० गते ४, पुस २१ गते ५ जना, पुस २२ गते २३ जना, पुस २३ गते २६, पुस २४ गते ४६ र आइतबार ३९ जनामा संक्रमण देखिएको फोकल पर्सन ओलीले जानकारी दिए।  

कोरोना संक्रमण फैलिएपछि भारतका विभिन्न स्थानबाट नेपाली नागरिक अहिले फर्किन थालेका छन्। भारतबाट फर्केका नेपाली नागरिकमा उक्त संक्रमण देखिएको फोकल पर्सन ओलीले बताए। 

प्रकाशित: २५ पुस २०७८ १५:०० आइतबार

नेपाल–भारत सिमानाका