स्वास्थ्य

ओमिक्रोनको संक्रमण बढ्न नदिन उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण बढ्न नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

शुक्रबार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आफू संयोजक रहेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिको बैठक बोलाई प्रधानमन्त्री देउवाले ओमिक्रोन भेरियन्टको संक्रमण बढ्न नदिन र संक्रमितहरुको उपचारमा विशेष ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्। त्यस अवसरमा उनले यसको संक्रमण दर बढ्न नदिन सीमा नाकाहरुलाई चुस्तदुरुस्त बनाउन र संक्रमितहरुको खाना र बस्नको आवश्यक व्यवस्था मिलाउन पनि सचेत गराए।

संक्रमितहरुको परीक्षण, उनीहरुको उपचारको व्यवस्था र कोभिडविरुद्धको खोप लगाउने कामलाई पनि अझ तीव्रता दिन प्रधानमन्त्रीबाट निर्देशन भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए। बैठकले संघीय सरकारले व्यहोर्नेगरी संक्रमितहरुको उपचार खर्च तत्कालका लागि भने स्थानीय सरकारले व्यहोर्ने विषयमा पनि छलफल गरेको छ।

बैठकमा कोभिड भाईरसको ओमिक्रोन भेरियन्टको संक्रमणदर बढदै गएमा छिट्टै अर्को बैठक बोलाएर स्मार्ट लकडाउन गर्ने विषयमा पनि छलफल भएको छ। संक्रमितहरुको संख्या बढेर गएमा भिडभाड हुने सिनेमा हल, हिउँदे विदालाई ध्यानमा दिएर विद्यालयहरु बन्द गर्ने जस्ता स्मार्ट लकडाउनका विषयमा पनि छलफल गरिएको मन्त्री खतिवडाले बताए। बैठकले तेस्रो चरणको बुष्टर खोप पनि अघि बढाउने अनुमति दिएको छ।

प्रकाशित: २३ पुस २०७८ १३:५५ शुक्रबार

प्रधानमन्त्री शेरबहादुर देउवा कोरोना भाइरस कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)