स्वास्थ्य

सिरिजंगाका ८ वडामध्ये ७ वटामा बर्थिङ सेन्टर

ताप्लेजुङको सिरिजंगा गाउँपालिकाका ८ वटा वडामध्ये ७ वटा वडामा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। ‘म स्वस्थ, मेरो गाउँ स्वस्थ’अभियान अन्र्तगत सबै वडामा बर्थिङ सेन्टर सञ्चालनमा ल्याउने पालिकाको योजना अनुरुप पछिल्लो समय वडा नं ७ खेवाङमा बर्थिङ सेन्टर र ल्याव सेवा एकसाथ सुरु गरिएको छ।

पालिका अध्यक्ष टीकाराम गुरुङले खेवाङमा सुरु भएको बर्थिङ सेन्टर र ल्याव सेवाको एकसाथ शुभारम्भ गरेका छन्। प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार पालिकाको वडा नं ६ मामाङ्खेमा मात्र बर्थिङ सेन्टर सञ्चालनमा आउन बाँकी रहेको छ। त्यहाँ पनि तत्कालै बर्थिङ सेन्टर सञ्चालनमा आउने गरी प्रकृया आरम्भ भइसकेको घिमिरेले जानकारी दिए। 

गाउँपालिकाले खेवाङमा ल्याब सेवा सुरु गर्न एकजना ल्याब असिस्टेन्ट करार सेवामा व्यवस्थापन गरेको छ भने बर्थिङ सेन्टर संचालनका लागि एकजना अनमीलाई एसबीए तालिम समेत उपलब्ध गराएको घिमिरेले जानकारी दिए।

गाउँपालिकाको आफ्नै स्रोतबाट पालिका क्षेत्रभित्रका ८ वटा वडाहरुमध्ये ३ वटा वडा क्रमशःवडा नं १ सिनाम, वडा नं ४ तेल्लोक र वडा नं ७ खेवाङबाट ल्याब सेवा सञ्चालनमा ल्याइ सकिएको समेत गाउँपालिकाले जनाएको छ।

प्रकाशित: १९ पुस २०७८ ०९:२८ सोमबार

बर्थिङ सेन्टर