स्वास्थ्य

कोरोना सङ्क्रमण फेरि फैलिन सक्ने भन्दै तयारी गर्न निर्देशन

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले कोभिड उपचारमा संलग्न चिकित्सकहरूलाई ओमिक्रोन भेरियन्टको सम्भावित सङ्क्रमणबाट सतर्क रहेर काम गर्न निर्देशन दिएका छन्।

कोभिड अस्पताल विराटनगरको आज निरीक्षण गर्दै उनले पछिल्लो समयमा कोरोना भाइरस तथा यसको घातक भनिएको ओमिक्रोन भेरियन्टको सम्भावित खतरातर्फ सतर्क रहेर काम गर्न र त्यसको उपचारका लागि तयारी गर्न समेत निर्देशन दिएका हुन्। 

साथै मन्त्री कार्कीले कोरोना सङ्क्रमितहरूलाई उपचारमा कुनै कमी हुन नदिन पनि आग्रह गरेका थिए। उनले भने 'उपचारमा आउने बिरामीले अस्पतालमै उपचार पाएनन् भने कहाँ जाने, यस विषयमा यहाँहरूले गम्भीर भएर सोच्नुपर्छ र सबैलाई चुस्त रूपमा सेवा दिनुपर्छ।'

उनले स्वास्थ्य उपचारमा कुनै कमी कमजोरी हुन नदिन प्रदेश सरकार चनाखो भएको र ओमिक्रोन भेरियन्टको सङ्क्रमण बढ्न सक्ने देखिएकाले अस्पतालको व्यवस्थापन चुस्त र दुरुस्त हुनुपर्छ भने। मन्त्री कार्कीले त्यहाँ उपचाररत बिरामीहरूका साथै अस्पतालको आइसियु, भेन्टिलेटर कक्षलगायतको अवस्थाको बारेमा पनि जानकारी लिएका थिए। रासस

प्रकाशित: १६ पुस २०७८ ०५:३९ शुक्रबार