नेपालको एक मात्र केन्द्रीय मानसिक अस्पताल २०४० सालमा ललितपुरमा स्थापना भयो। अस्पताल स्थापना भएपछि कयौँ बिरामीले राहतको सास फेर्न पाए। उतिबेलादेखि नेपालमा मानसिक रोग लागेका बिरामीलाई देश बाहिर जानु पर्ने बाध्यता हट्यो। तर सरकारी बेवास्ताका कारण यो अस्पताल भने आफैं तनावग्रस्त भएको छ।
उक्त अस्पतालको स्थापना हुनुपूर्व मानसिक रोगीहरु भारतको राँची जानुपर्ने बाध्यता थियो। अस्तपाल नेपालमै स्थापना भएपछि त्यो बाध्यता हटेपनि सरकारी बेवास्ताका कारण अस्पताल आफैँ तनावग्रस्त भएको हो।
स्थापनाकालमा नेपालको जनसंख्या डेढ करोडभन्दा केही मात्र बढी भएको तथ्यांक छ तर, अहिले नेपालको जनसंख्या त्यतिबेलाको तुलनामा दोब्बरले वृद्धि भइसक्यो। बिरामीको चाप बढ्दो छ। तर अस्पताल ४७ शय्याबाट माथि बढ्न सकेको छैन।
भौतिक संरचना र उपकरणहरू बाहेक अस्पतालमा जनशक्ति दरबन्दी पनि पुरानै छ। केन्द्रीय मानसिक अस्पतालमा ८ जना विशेषज्ञ डाक्टर छन्। ती मध्ये दुई जना करारमा खटेका छन्। यस्तै, १६ जनाको दरबन्दी रहेपनि जम्मा ११ जना नर्सहरू यहाँ कार्यरत छन्।
पछिल्लो तथ्यांक अनुसार नेपालमा नसर्ने रोग लागेकामध्ये १८ प्रतिशत मानसिक रोगका बिरामी छन्। अझ कोभिड १९ को महामारीपछि अस्पतालमा मानसिक रोगका बिरामी आउने क्रम बढेको छ। मानसिक अस्पताल लगनखेलमा दैनिक १ सय ४० जनासम्म मानसिक समस्या लिएर बिरामी पुग्ने गरेका छन्।
गत ५ वर्ष यताको अस्पतालको तथ्यांक अनुसार आर्थिक वर्ष ०७३/०७४ मा बहिरङ्ग सेवाको लागि ३३ हजार ४ सय ९४ अन्तरङ्ग सेवाको लागि ८ सय १ जना र इमर्जेन्सीमा ४ सय ४७ जना आएका थिए। यस्तै आव ०७४/०७५ मा बहिरङ्गमा सबैभन्दा बढी ३६ हजार ७ सय ४५ अन्तरङ्गमा ७ सय ८४ जना इमर्जेन्सीमा ६ सय ४१ जनाले सेवा लिएका थिए। यस्तै ०७५/०७६ मा भने बहिरङ्ग सेवाको लागि ३५ हजार ७ सय ४७ जना, अन्तरङ्ग सेवाको लागि १५ सय २७ जना, र इमर्जेन्सीमा ६ सय ६१ जनाले सेवा लिएको अस्पतालको तथ्यांकमा उल्लेख छ।
यस्तै ०७६/०७७ मा बहिरङ्ग सेवाको लागि ३५ हजार ८ सय १ जना, अन्तरङ्ग सेवाको लागि ६४३ जना र इमर्जेन्सी सेवाको लागि ७ सय ८२ जना अस्पतालमा आएका थिए। यस्तै अस्पतालको पछिल्लो तथ्यांक अनुसार ०७७/०७८ मा बहिरङ्गमा २८ हजार २ सय २ जना, अन्तरङ्ग सेवाको लागि ५ सय ७९ जना र इमर्जेन्सी सेवाका लागि ६ सय ८५ जना उपचारका लागि आएको तथ्यांक छ।
यहाँ प्रायः निजी अस्पतालमा खर्च गर्न नसक्ने वर्गका मानिसको घुइँचो लाग्ने गर्छ। बिरामीहरूलाई रोग पत्ता लगाउन प्रयोग गरिने म्याग्नेटिक रेजोनेन्स इमेजिङ (एमआरआई) गर्न समेत पाटन अस्पताल वा सिभिल अस्पताल धाउनु पर्ने बाध्यता छ। अस्पतालमा आधुनिक उपकरण जडान अर्काे चुनौतिको विषय बनिरहेको छ।
अस्पतालमा बिरामीको लागि फरक विभाग नभएर अर्को समस्या छ। सबै खाले मानसिक बिरामीको एकै ठाउँमा राखेर चेकजाँच गरिने गरिएको छ। अस्पतालमा फरक फरक मनोसामाजिक समस्या भएका बालबालिका, लागुऔषध प्रयोगकर्ता, दीर्घकालीन सेवा, कैदबन्दी आदिका लागि फरक विभाग नहुँदा बिरामीसहित चिकित्सकले पनि सास्ती व्योहोर्नु परेको छ। अपुग स्रोत र साधनबीच अस्पतालले सेवा दिइरहेको छ। अस्पताल सुधारका लागि स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय र सामान्य प्रशासनसँग निरन्तर मागसमेत गरिरहेको अस्पताल स्रोत बताउँछ।
एक मात्र मानसिक अस्पताल भएकाले पनि बिरामीहरु देशका विभिन्न कुनाकप्चाबाट उपचारका लागि यहाँ आउँछन्। बेड अभावकै कारण उपचारका लागि पुग्ने गरेका बिरामी फिर्ता हुनुपर्ने वा अस्पतालले धेरै गम्भिर विरामीलाई बेड पाउन लामो समय कुनुपर्ने र विर अस्पताल, शिक्षण अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको पाटन अस्पतालका डा. बासु कार्की बताउँछन्।
एक जना मानसिक बिरामीलाई भर्ना गरेर निको गराउन कम्तीमा ३ देखि ४ हप्तासम्म अस्पतालमा राख्नुपर्ने हुन्छ। अस्पतालमा टाढाटाढाबाट बिरामी आउने गर्छन्।
अस्पतालको बहिरंग विभाग (ओपीडी) मा दैनिक डेढ सयसम्म बिरामीहरु आउँछन्। भर्ना हुने बिरामीहरु २ देखि ४ जनासम्म हुने गर्छन्। मानसिक स्वास्थ्य क्षेत्रमा विभिन्न नयाँ उपकरण तथा सेवाको विकास भइरहेका बेला यो अस्पताल भने पुरानै लयमै सञ्चालन भइरहेको छ।
शय्याको कमि, पुरानो भौतिक संरचना र जनशक्तिको कमि नै अस्पताल सुधार तथा स्तरोन्नतिको मुख्य समस्याहरु हुन्। यसले गर्दा पनि अस्पतालले नयाँ सेवा र विशेषीकरण सेवाहरु सुरु गर्न नसकेको हो। मानसिक अस्पतालमा अझै पनि बाल मनोरोग, ज्येष्ठ नागरिकमा हुने मानसिक रोग, अर्डर साइकाइट्रिक्स, ड्रग एब्युज, साइकोसेब्स्युल मेडिसिन लगायत थुप्रै सेवाहरु सुरु हुन सकेका छैनन्।
पछिल्लो समय अस्पतालले सामान्य संरचना सुधार गर्नतर्फ लागेको डा.कार्की बताउँछन्। २०७७ सालदेखि रिपिटेटिभ ट्रान्सक्रनियल म्याग्नेटिभ स्टीमुलेसन (आरटीएमएस) सेवा सुरु गरेको छ। औषधिले काम गर्न नसकेका बिरामीहरुका लागि यो प्रविधि प्रयोग हुन्छ। स्लीप स्टडीका लागि ल्याब पनि स्थापना गरेको छ।
सामान्यतया सिकाइमा कमजोरी, अरुलाई हानी नोक्सानी पूर्याउने, सामान्य मानिसभन्दा फरक खालको व्यवहार देखाउने समस्या भएका मानिसहरु यस अस्पतालमा उपचारका लागि आउने गर्छन्। धेरैजसो सामान्य मानिसमा नै मानसिक समस्या बढी हुने गरेको पाइन्छ।
वृहत्तर विचार, भावना, व्यक्तित्व, डर, भ्रम, आत्मग्लानी नकारात्मक सोच लगायतले मानिसमा मनोरोगको समस्या निम्तिन्छ। कुनै साधारण व्यक्तिको हाउभाउमा नजिकको मानिसलाई असहज हुने खालको परिवर्तन आयो भने पनि उसलाई मानसिक रोग लागेको हुनसक्ने उनको भनाइ छ। उनका अनुसार यो समस्या वृद्ध, युवा, बालबालिका जो कोहीमा पनि देखिन सक्छ, तर समयमै यसको उपचार गर्यो भने यसले उग्ररुप लिन पाउँदैन।
स्थापनाकालदेखि आजसम्म आइपुग्दा नेपालका अधिकांश बिरामी अस्पतालको पहुँचमा नपुगेको अस्पतालको तथ्यांक छ। एक त मानसिक समस्यालाई हेयको भावनाले हेर्ने अर्को अस्पताललाई भन्दा धामी, झाँक्रीको विश्वास गर्ने चलन अझै पनि नेपाली समाजमा कायमै छ। त्यसैले मानसिक रोग लागेका कयौँ बिरामीहरु अस्पतालको पहुँचमा पुग्न सकेका छैनन्। अधिकांश मनोरोग निको हुने र केहीलाई स्थिर राख्न सकिने भए पनि अस्पतालको पहुँचमा नआउँदा समस्या हुने गरेको मनोचिकित्सक कार्कीले बताए।
प्रकाशित: १५ पुस २०७८ ०९:३६ बिहीबार