स्वास्थ्य

मस्तिष्कघातकाे उपचार छ बिरामीलाई थाहा छैन

न्युरो अस्पताल वाँसवारीमा मष्तिष्कघात तथा अन्य रोगको उपचार गर्ने अन्तर्राष्ट्रियस्तरको उपचार प्रविधिबाट उपचार गरिन्छ। यो प्रक्रियाको उपचारमा बिरामी जति छिटो पुगेमा मात्र उपचार सफल हुन्छ। तर धेरै बिरामी ढिला पुग्ने र कतिपयले उपचारबारेमा जानकारी नपाएर बिरामीको ज्यानसमेत जाने गरेको अस्पतालका चिकित्सकले औंल्याएका छन्।

आइतबार अस्पतालका संस्थापक न्युरो सर्जन डा.उपेन्द्र देवकोटाको ६७आंै जन्मजयन्तीको अवसरमा चिकित्सकहरूले मष्तिष्कघात रोगको छिटो र सही उपचारबारेमा जानकारी नहुनु बिरामी मृत्युको प्रमुख समस्या भएको बताए।

न्युरोलोजी(स्नायु) रोगलाई विशिष्टीकृत र एकीकृत रूपमा सेवा दिने डा. देवकोटाको योगदानको स्मरण गर्दै अस्पताललाईं गति प्रदान गर्न लागिपरेको डा. देवकोटाकी पत्नी तथा अस्पतालकी निर्देशक डा. मधु दीक्षितले बताइन्।

अस्पतालमा दुई वर्षअघिदेखि नै मस्तिष्कघात उपचारमा प्रयोग हुने न्युरोडोलोजी इन्टरभेन्सनमा(खुट्टाको नशाबाट टाउकोमा तार पुर्‍याएर गरिने शल्यक्रिया) शल्यक्रिया वाइ–प्लेन क्याथल्याब प्रविधिबाट सेवा सुरु गरेको भए पनि धेरैलाई यो सेवाको जानकारी नभएको अस्पतालका इन्टरभेसनल न्युरोसर्जन डा. सुभाष फुयाँलले बताए। अस्पतालले भित्राएको यो प्रविधि मस्तिष्कघात उपचारमा अन्तर्राष्ट्रिय रूपमै पछिल्लो प्रविधि मानिन्छ।

यो प्रविधिले मस्तिष्कको दुवै भागमा हेरेर शल्यक्रिया गर्न मिल्ने भएकोले योभन्दा अघिल्लो क्याथल्याब प्रविधिभन्दा लाभदायक र आधुनिक छ नै। टाउको खोलेर गरिने शल्यक्रिया र सिंगल क्याथल्याब प्रविधिबाट गरिने शल्यक्रियाको तुलनामा कम संख्यामा जटिलता आउँछ।

टाउको खोलेर गरिने या सिंगल क्याथल्याब प्रविधिबाट मस्तिष्कघातको शल्यक्रिया गर्दा मस्तिष्कको नशा फुट्ने, नशा च्यापिने, नशा बन्द हुने जस्ता जटिलता आउन सक्छ।

यो प्रविधिबाट शल्यक्रिया गर्दा स्नायुको नशामा रगतको डल्लो जम्मा भएमा तार छिराएर तार निकालेर बाहिर ल्याउने या फुटेको स्नायु टाल्ने र रगत निकालेर उपचार गरिन्छ। यो प्रविधीवाट दुई वर्षको अवधिमा ३ सय जनाको शल्यक्रिया भइसकेको अस्पतालले जनाएको छ।

उच्च रक्तचाप या अन्य कारणले मस्तिष्कमा पुग्ने स्नायु नशामा रगतको डल्लो जम्मा भई मस्तिष्कको क्रियामा अवरोध आउने, मस्तिष्कको नशा फुलेर मस्तिष्कको क्रियामा अवरोध आउने अवस्थालाई मस्तिष्क घात भनिन्छ।

प्रकाशित: ५ पुस २०७८ ०२:४६ सोमबार

न्युरो अस्पताल मष्तिष्कघात तथा अन्य रोगको उपचार