स्वास्थ्य

बूढानीलकण्ठका १० हजार विद्यार्थीको मुटुको स्क्रिनिङ् गर्ने

शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रले बूढानीलकण्ठ नगरपालिकाका क्षेत्रका बालबालिकाको निःशुल्क मुटुको स्क्रिनिङ् (परीक्षण) गर्ने भएको छ। केन्द्रले बूढानीलकण्ठ नगरपालिकाको सहकार्यमा पाँचदेखि १५ वर्ष उमेरसमूहका विद्यार्थीको मुटुको स्क्रिनिङ् गर्ने भएको हो।

केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले बालबालिकामा लाग्ने बाथ मुटुरोग कतिको छ भनेर परीक्षण गर्नका लागि मुटुको स्क्रिनिङ्ग गर्न थालिएको बताए। उनका अनुसार सामुदायिक विद्यालयमा अध्ययनरत् १० हजार विद्यार्थीको मुटुको स्क्रिनिङ गर्न थालिएको हो। ‘बाथमुटुको रोग कति छ भनेर हेर्नका लागि हामीले परीक्षण गर्न थालेको हौं’, उनले भने, ‘आगामी सोमबार (यही पुस ६ गते)देखि विद्यालयमा नै गएर हामीले बालबालिकाको मुटुको परीक्षण गर्ने छौं।’

उनले बालबालिकामा बाथ मुटुरोगको समस्या देखिने भएकाले स्क्रिनिङ् गर्न थालिएको बताए। सामुदायिक विद्यालयबाट १० हजारको विद्यार्थी नपुगेको खण्डमा निजी विद्यालयका विद्यार्थीको पनि परीक्षण गर्ने उनको भनाइ छ। केन्द्रका मुटुरोग विशेषज्ञ डा कुन्जन शेर्पाको संयोजकत्वमा १२ जना टोली बनाएर प्रत्येक विद्यालयमा गई विद्यार्थीको मुटुको परीक्षण गरिने छ। रासस

प्रकाशित: १ पुस २०७८ १०:२६ बिहीबार

सामुदायिक विद्यालय