स्वास्थ्य

‘ओमिक्रोनविरुद्ध खोपले काम गर्छ ’

हाल प्रयोगमा आइरहेका खोपले ओमिक्रोन भेरियन्टका कारण गम्भीर बिरामी हुनबाट जोगाउने विश्व स्वास्थ्य संगठनका एक अधिकारीले बताएका छन्।

दक्षिण अफ्रिकामा हालै गरिएको एक ल्याब परीक्षणले यो भेरियन्टले फाइजर खोपको प्रभावलाई आंशिक रूपमा छल्ने देखाएको थियो। अनुसन्धानकर्ताले भ्याक्सिनका कारण निर्माण भएको एन्टिवोडिजले भाइरसको नयाँ स्ट्रेनलाई रोक्ने क्षमतामा ह्रास आएको बताएका थिए।

तर विश्व स्वास्थ्य संगठनका आपतकालीन निर्देशक डा. माइक रायनले ओमिक्रोनले खोपलाई छल्न सक्ने क्षमता राख्ने नदेखिएको दाबी गरेका छन्। ‘गम्भीर बिरामीबाट जोगाउन तथा अस्पतालमा भर्ना हुने दर घटाउन हामीसँग प्रभावकारी खोप छन् र यी खोपले ओमिक्रोन विरुद्ध पनि काम गर्नेछन्,’डा. रायनले एएफपीलाई भनेका छन्। उनले प्रारम्भिक अध्ययन नतिजाले ओमिक्रोनले डेल्टाले भन्दा बढी बिरामी नपार्ने देखाएको र रोगको गम्भीरता कम हुने देखिएको पनि बताए।

तर हालै दक्षिण अफ्रिकामा गरिएको अध्ययनले फाइजर–बायोएनटेक खोपले अन्य कोभिड–१९ भेरियन्टको तुलनामा ओमिक्रोनबाट सुरक्षा दिन ४० प्रतिशत कम प्रभावकारी हुने देखाएको थियो। तर दक्षिण अफिकाको हेल्थ रिसर्च इन्सिच्यूटका भाइरोलोजिष्ट प्राध्यापक एलेक्स सिगालले भ्याक्सिनले सिर्जना गर्ने एन्टिबोडिज(प्रतिरक्षा क्षमता)लाई छल्न ओमिक्रोन सफल रहेको भनाई ‘अपूर्ण’ रहेको बताए। उनले खोप र संक्रमणका कारण प्राकृतिक रूपमा सिर्जना भएको प्रतिरक्षाले ओमिक्रोनलाई रोक्न सक्ने दाबी गरे।

फाइजर खोपले ओमिक्रोनविरुद्ध कति प्रतिशतले काम गर्छ भन्ने अध्ययनको विस्तृत नतिजा केही दिनमा सार्वजनिक गर्ने तयारी भइरहेको छ। तर मोर्डना तथा जोन्सन एण्ड जोन्सन यो भेरियन्टविरुद्ध कति प्रभावकारी छन् भन्नेमा यथेष्ट तथ्यांक सार्वजनिक भएका छैनन्।

ओमिक्रोन भेरियन्ट दक्षिण अफ्रिकामा गत महिनाको २३ तारिखमा पहिलोपटक पत्ता लागेको थियो। हाल विश्वका ५० भन्दा बढी देशमा यो भेरियन्ट फैलिसकेको छ।

प्रकाशित: २३ मंसिर २०७८ ०१:१७ बिहीबार

‘ओमिक्रोन भेरियन्ट’ स्वास्थ्य संगठन फाइजर खोप