स्वास्थ्य

स्वास्थ्य सेवा केन्द्रबाट स्वास्थ्य सेवा प्रारम्भ

भक्तपुर नगरपालिकाले नगरको नःपली सृजनानगरको आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट स्वास्थ्य सेवा प्रारम्भ गरेको छ। ख्वप अस्पताल च्याम्हासिंह भक्तपुरबाट अस्पतालस्तीय सेवा दिंदै आएको नगरपालिकाले भक्तपुर नगरपालिका १ नं. वडा नःपली सृजनानगरको आधारभूत स्वास्थ्य सेवा केन्द्र स्वास्थ्य सेवा प्रारम्भ गरेको हो।

नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार एक समारोहबीच सेवा शुभारम्भ गरे। सुरुमा नगर प्रमुख प्रजापतिलाई स्वास्थ्य सेवा केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष सम्झना प्रेमीले भवनको साँचो हस्तान्तरण गरेकी थिइन्। त्यसपछि प्रमुख प्रजापतिले त्यसै सेवा केन्द्रका डा. विभेद न्यौपानेलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेर सेवा प्रारम्भ भएको उद्घोष गरिएको थियो।

कार्यक्रममा प्रमुख प्रजापतिले नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको बताए। उपप्रमुख रजनी जोशीले नगरपालिकाले आधुनिक सुविधायुक्त ख्वप अस्पताल सञ्चालनमा जोड दिँदै आइरहेको बताइन्।

कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले नःपलीमा अवस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा डाक्टरसहितको मातृत्व, बालरोग, सर्ने तथा नसर्नेलगायतका स्वास्थ्य सेवा उपलब्ध हुने बताए।

ख्वप अस्पतालमा कार्यरत डा. रत्नसुन्दर लासिवाले २०३० सालबाट भक्तपुर नपाले स्वास्थ्य सेवा शुभारम्भ गर्दै आएको बताउँदै आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट बिहान ७ देखि दिउँसो २ बजेसम्म सेवा प्रदान हुने बताए।

कार्यक्रममा नःपली सृजनानगर आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष सम्झना प्रेमी, नःपली सिर्जना सेवा समाजका अध्यक्ष राममणि पोखरेल र वडा सदस्य सूर्यप्रसाद श्रेष्ठले केन्द्रको सेवासुविधाबारे चर्चा गरे।

प्रकाशित: १६ मंसिर २०७८ ११:३८ बिहीबार

भक्तपुर नगरपालिका