पोखरा महानगरपालिका–२० मौजामा २०७६ सालको जेठताका सुरक्षित सुत्केरी गराउन नसक्दा शिशुको मृत्यु भयो। बर्थिङ सेन्टर नभएको मौजामा घरमै असुरक्षित सुत्केरी गराउँदा बच्चाको मृत्यु भएको थियो। शिशुको मृत्यु भएपछि वडाले बर्थिङ सेन्टर बनाउने निर्णय गर्यो।
सो निर्णय अनुसार महानगरको कार्यपालिका बैठकले पनि बर्थिङ सेन्टर बनाउने भन्दै त्यसका लागि आवश्यक उपकरण खरिद गर्ने निर्णय गर्यो। यहि बीचमा मौजा स्वास्थ्यचौकीले स्तरोन्नती गर्ने भन्दै गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा ४ लाख रुपैयाँ माग्यो। स्वास्थ्य समेत सम्हालेको सामाजिक विकास मन्त्रालयले मौजा स्वास्थ्यचौकी स्तरोन्नतीका लागि ४ लाख रुपैयाँ दिने निर्णय गर्यो।
तर, महानगरले चलाखी गर्दै मन्त्रालयको चारलाख बर्थिङ सेन्टरको अपूरो स्वास्थ्य उपकरण खरिदमा खर्चियो र उक्त सामान मौजा स्वास्थ्यचौकीलाई लैजान भन्यो। मन्त्रालयले दिएको रकमले बर्थिङ सेन्टरका लागि सामान खरिद गरेर दिएपछि वडाले असहमति मात्र जनाएन उक्त सामान नबुझ्ने निर्णय गर्दै मौजा स्वास्थ्यचौकीलाई सो स्वास्थ्य उपकरण नबुझ्न भन्यो। किनकी सामान अपूरो थिए।
स्वास्थ्यचौकीले सामान नबुझेपछि स्वास्थ्य उपकरण बोकेर गएको महानगरको गाडीले गैरजिम्मेवार बन्दै स्वास्थ्यचौकीको गेट बाहिर सामान झारेर त्यत्तिकै फर्कियो। पछि स्वास्थ्यचौकीका कार्यालय सहायकले सो सामान त्यहिँको एउटा कोठामा थन्क्याइदिए।
महानगरको चरम लापरबाहीका कारण मौजामा स्वास्थ्यचौकी स्तरोन्नती मात्र होईन, बर्थिङ सेन्टर पनि बनेन। जसका कारण त्यहाँका सुत्केरी महिला र शिशु अनाहकमै ज्यान गुमाउन बाध्य छन्। नेपालमा हाल अनिवार्य रुपमा स्वास्थ्यचौकी वा अस्पतालमा सुत्केरी गराउनुपर्ने नियम छ। तर मौजाका स्थानीय महिला बर्थिङ सेन्टर नबन्दा घरमै सुत्केरी हुन बाध्य छन्। यहि कारण कैयौंले वर्षेनी ज्यान गुमाइरहेका छन्।
मौजा स्वास्थ्यचौकीको तथ्याङ्क अनुसार २०७६ सालको साउनदेखि हालसम्म शतप्रतिशतजतो स्थानिय महिलाले घरमै सुत्केरी गराएका छन्। यो क्रम अझै जारी छ। बर्थिङ सेन्टरको अभावमा घरमै सुत्केरी गराउँदा गत वर्ष मनजङ गुरुङ र मीना गुरुङको शिशुको ज्यान गएको थियो। ‘घरमै सुत्केरी गराउँदा जोखिम छ भन्ने सबैलाई थाहा छ, तर अस्पतालसम्म पुर्याउन गाह्रो, गाउँमा बर्थिङ सेन्टर छैन’ वडाध्यक्ष सीम गुरुङले भने, ‘मुख्यको मुख्य र सुविधासम्पन्न अस्पतालबाट करिब १३ किलोमिटर दूरीमा यो गाउँ पर्छ।
एकातिर स्वास्थ्य उपकरण बेवारिसे छन्। अर्कोतिर सुत्केरी महिलाले उपचार नपाएर हरीबिजोग छ। त्यतिमात्र होइन, त्यहाँ स्वास्थ्यकर्मी पनि अभाव छ। जसका कारण अन्य विरामीले पनि उपचार नपाइरहेको स्थानीय गुनासो गर्छन्। पोखरा महानगरपालिकामा ५ जना स्वास्थ्यका कर्मचारी भए पुग्ने ठाउँमा तीनतिहाई बढी थुप्रिएर बसेका छन्। तर, ५ जनाको दरबन्दी रहेको मौजा स्वास्थ्यचौकीमा भने स्वास्थ्यकर्मी अभाव रहेको छ।
पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले स्वास्थ्य निर्देशिका अनुसार मापदण्ड नपुगेकाले मौजामा बर्थिङ सेन्टर बनाउन नसकिएको बताए। ‘बर्थिङ सेन्टरको माग पनि भएको हो, कार्यपालिकाले निर्णय पनि गरेको हो, तर स्वास्थ्य निर्देशिका अनुसार बर्थिङ सेन्टर बनाउन वार्षिक रुपमा १५ जना जन्मदर हुनुपर्छ, तर त्यो मापदण्ड नपुगेकाले मौजामा बर्थिङ सेन्टर बनाउन सकिएन,’ उनले भने।
शर्माले आकस्मिक रुपमा कसैलाई सुत्केरी गराईहाल्नु परेमा प्रयोग गर्नका लागि बर्थिङ सेन्टरका सामाग्री लगेको उनले दाबी गरे। तर त्यो प्रयोग नभई बेवारिसे भएको बारे गैरजिम्मेवार जवाफ दिए। उनले भने, ‘ती सामान अब जोगाउँला नि त। त्यहाँ जोड्न सकिएन भने अन्यत्र पठाउनुपर्छ। त्यो हामी फिर्ता ल्याउँछौं।’ उनले मौजा स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी समायोजन गर्नेबारे छलफल भइरहेको र छिट्टै टुंगिने बताए।
पोखरा महानगरपालिका–२० का अध्यक्ष सीम गुरुङ भने स्वास्थ्यचौकीमा तत्काल स्वास्थ्यकर्मी पठाउनुपर्ने बताउँछन्। ‘केही वरिष्ठ कर्मचारीको मनोमानीले गर्दा महानगरमा कामै नगरी बस्ने कर्मचारीको थुप्रो छ, मौजा जस्तो महानगरको नजिक भएर पनि स्वास्थ्यकर्मीको अभावमा स्थानीय उपचारबाट बञ्चित हुनुपरेको छ, यसको अन्त्य चाँडो हुनुपर्छ,’ उनले भने।
प्रकाशित: १० मंसिर २०७८ ०९:४७ शुक्रबार