स्वास्थ्य

फाइजर खोप १२ वर्षमाथिका दीर्घरोगीलाई

कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त हुने एक लाख डोज फाइजर खोप १२ वर्षमाथिका दीर्घरोगीलाई मात्र दिने निर्णय सरकारले गरेको छ। 

यो खोप सोमबार नियमति उडानमार्फत अमेरिकाबाट नेपाल आइपुग्नेछ। कोभ्याक्स सुविधाअन्तर्गत अत्यन्त कम संख्यामा आएको हुनाले यो खोप पहिलो चरणमा १२ वर्षमाथिका दीर्घरोगीलाई मात्र दिने निर्णय भएको परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख सागर दाहालले बताए। ‘खोप एक लाख डोजमात्र छ। धेरैजनालाई दिन सम्भव छैन। 

कोभ्याक्सको नियमअनुसार जोखिम समूहलाई पहिला दिने हो। त्यही निर्णय गरेका छौं’, दाहालले आइतबार नागरिकसित भने। कात्तिक २८ देखि मंसिर ३ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ। नेपालका मुख्य २४ वटा अस्पतालवाट यो खोप दिइने खोप शाखाले जनाएको छ। अमेरिकासँग किनेर ल्याइने भनिएको फाइजरको थप खोप आउने विषयमा यकिन नभएको खोप शाखाले जनाएको छ।  

संक्रमणदर ७.३ प्रतिशत  

गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणदर ७.३ प्रतिशत पुगेको छ। एन्टिजेन र पिसिआर विधिबाट परीक्षण भएका ७ हजार ६ सय २५ नमुनामध्ये ५ सय ५७ जनामा कोरोना पुष्टि भएको छ। पिसिआर विधिबाट भने संक्रमणदर ८.६ प्रतिशत रहेको छ। 

थप संक्रमितसहित नेपालमा कोरोना संक्रमण हुनेको कुल संख्या ९ लाख ३ हजार ७१ पुगेको छ। तीमध्ये १० हजार २ सय १ जना सक्रिय संक्रमित छन्। ९ हजार ४ सय २३ जना होम आइसोलेसनमा छन् भने ७ सय ७८ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ। गम्भीर समस्या भएका २ सय ७३ जनाको आइसियुमा उपचार भइरहेको छ। 

गत २४ घण्टामा नेपालमा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। थप मृतकसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ४८ पुगेको छ। नेपालमा १८ वर्षमाथिको जनसंख्यामध्ये ३३.१ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएका छन्। १८ वर्षमाथिको जनसंख्या १ करोड ९९ लाख २२ हजार १ सय ६४ रहेकोमा ३३.१ प्रतिशतले पूर्ण मात्रा र ४३.२ प्रतिशतले पहिलो मात्रा खोप लिएको खोप शाखाले जनाएको छ।

प्रकाशित: ८ कार्तिक २०७८ ००:२२ सोमबार

कोभ्याक्स सुविधा दीर्घरोगी खोप शाखाका प्रमुख सागर दाहाल