स्वास्थ्य

गंगालालमा कार्डियाक एमआरआई सेवा

गंगालाल हृदय केन्द्रमा कार्डियाक एमआरआई सेवा केही साताभित्रै सुरु हुँदैछ। सरकारी अस्पतालमा पहिलो पटक कार्डियाक एमआरआई सेवा सुरु हुन लागेको अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले बताए।

‘दसैंलगत्तै एमआरआई सेवा सुरु हुनेछ,’ उनले भने। उनका अनुसार यो उपकरण थ्री टेस्ला शक्तिको आधुनिक एमआरआई हो। सरकारको सहयोगमा नेदरल्यान्ड्सबाट २१ करोड रूपैयाँमा सो उपकरण खरिद गरी ल्याइएको हो। यो उपकरण गंगालाल हृदय केन्द्रमा भित्रिएसँगै अस्पतालमा सेवा लिन आउने सबै खालका बिरामीको पहुँचमा हुने निर्देशक अधिकारीले बताए। उनका अनुसार यो उपकरणले मुटुमा हुने मायोप्याथी समस्या, मुटुको प्वाल तथा अन्य ससाना समस्यासमेत पत्ता लगाउने भएकाले मुटुरोगीको उपचारमा सहजता हुनेछ।

निजी क्षेत्रमा यो सेवा रहे पनि निकै महँगो छ। कति शुल्क लिने भन्ने निर्णय नभइसके पनि निजीको तुलनामा झन्डै आधा कम मूल्यमा यो सेवा दिने गरी अस्पताल समितिले निर्णय गर्ने डा. अधिकारीको भनाइ छ। अस्पतालले अहिले एक्सरे र सिटिसक्यानका भरमा मुटुको समस्या पहिचान गर्दै आएको छ।

प्रकाशित: १८ आश्विन २०७८ ०३:०६ सोमबार

गंगालाल हृदय केन्द्र कार्डियाक एमआरआई मुटुको समस्या पहिचान