स्वास्थ्य

कोरोनाबाट मृत्यु भएका डाक्टरको सम्झनामा सालिक निर्माण

कोरोना संक्रमणबाट मृत्यु भएका डा. सापकोटाको सालिक अनावरण गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाही । तस्बिर : नगेन्द्र/नागरिक

कोरोना संक्रमित नागरिकहरुको उपचार गर्दागर्दै आफै संक्रमित भएर मृत्यु भएका कर्णाली प्रदेश अस्पतालका डाक्टर हरि सापकोटाको सम्झनामा सालिक निर्माण गरिएको छ। अस्पताल प्रशासनले डा. सापकोटाको नामबाट अर्थोपेडिक वार्डको नामाकरण गरेको छ। तीन दशकसम्म कर्णालीमा सेवा गरेका डा. सापकोटाको अघिल्लो वर्ष असोज १५ गते उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको थियो।  

कर्णालीमा अर्थोपेडिक वार्डको सुरुवात गर्ने डा. सापकोटा कर्णालीका नागरिकका प्रिय थिए। तत्कालीन अवस्थामा मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको स्थापना हुँदा डा. सापकोटा तीन महिनाका लागि काजमा सुर्खेत आएका थिए। त्यसयता उनले सुर्खेतलाई आफ्नो कर्मभूमि बनाए। कर्णालीका दुर्गम क्षेत्रबाट उपचारका लागि आउने विरामीको सेवा गरे।  

नाम मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल भएपनि भौतिक पूर्वाधार र जनशक्ति अभावमा यहाँका नागरिकहरु उपचारका लागि नेपालगञ्ज, काठमाडौं र भारत जानुपर्ने बाध्यता थियो। मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल हुँदै कर्णाली प्रदेश अस्पताल अस्पतालको अहिलेको स्वरुपमा ल्याउन डा. सापकोटाको भूमिका महत्वपूर्ण र सम्झन लायक छ। 

‘कर्णालीमा प्रभावकारी स्वास्थ्य सेवाको अहिलेको पहुँचसम्म पुर्‍याउन स्वर्गीय डा. सापकोटाको योगदान र भूमिका महत्वपूर्ण छ,’ प्रदेश अस्पतालका निर्देशक डा. डम्वरबहादुर खड्काले भने, ‘त्यसैले उहाँ (डा. सापकोटा)को सम्झनामा सालिक निर्माण गर्नुका साथै उहाँको नामबाट अर्थोपेडिक वार्डको नामाकरण गरेका हौं।’  

अस्पताल निर्देशक डा. खड्काले कर्णालीका विरामीहरुलाई माया र हेरचाह गर्ने इमान्दार डाक्टर गुमाउँदा आफूहरु मर्माहत भएको बताए। ‘अस्पतालमा आउने कर्णालीका विरामीहरुलाई खुशी साथ रोग निको बनाएर पठाउन सक्यौं भने उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ,’ डा. खड्काले भने, ‘पैसा कमाउनका लागि नभई विरामीको सेवा गर्नका लागि स्वास्थ्य क्षेत्रमा आएका हौं भन्ने उहाँको भनाईलाई सबैले अनुसरण गर्न आवश्यक छ।’

सालिक अनावरण गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समाज र स्वास्थ्य क्षेत्रमा डा. सापकोटाले पुर्‍याएको योगदानबाट अरुले पाठ सिक्नुपर्ने बताए। ‘उहाँले देखाएको बाटोमा सधैं हिँड्नका लागि यो सालिक र अर्थोपेडिक वार्डले सम्झाउने छ,’ मुख्यमन्त्री शाहीले भने, ‘विरामीलाई राम्रो व्यवहार र उपचार दिन सक्यौं भने उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ।’  

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश अस्पताललाई बुटिक अस्पतालका रुपमा विकास गरिएको बताउँदै बाह्य स्वरुप जस्तै आन्तरिक सेवा पनि प्रभावकारी हुनुपर्ने बताए। उनले कर्णालीकै ठूलो अस्पतालमा जागिर खानका लागि भन्दा पनि सेवा भावले काम गर्न चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे।

प्रकाशित: १६ आश्विन २०७८ ०८:४९ शनिबार

सालिक निर्माण कोरोना संक्रमित कर्णाली प्रदेश अस्पताल डाक्टर हरि सापकोटा