स्वास्थ्य

सरकारले पठाउन छाड्यो भक्तपुरमा खोप

सरकारले भक्तपुरमा कोभिड–१९ विरुद्धको खोप पठाउन छाडेको छ। जिल्ला स्वास्थ्य कार्यालयले सरकारले भक्तपुरका लागि खोप पठाउन छोडेको जनाएको छ।

सोही कारण कार्यालयले भक्तपुरका लागि थप खोप मगाइदिन जिल्ला प्रशासन कार्यालयसँग आग्रह गरेको छ। जिल्लाका धेरै नागरिकले खोप लगाइसकेको भन्दै सरकारले  थप खोप पठाउन छाडेको कार्यालयका प्रमुख कृष्ण मिजारले बताए। ‘सरकारले ४० वर्ष माथिका र विगतमा खोप लगाउन छुटेका नागरिकलाई खोप लगाउने भनेको छ तर भक्तपुरलाई खोप दिदैन, सरकारले भक्तपुरलाई खोप धेरै भयो भनेर कोभिडको भ्याक्सिन पठाउनै छाड्यो, भक्तपुरलाई थप भ्याक्सिन उपलब्ध गराइदिन सिडिओले पहल गरिदिनु पर्यो।’ उनले भने।

कार्यालय प्रमुख मिजारले जिल्लाका तीन लाख ७४ हजार २१५ जनसङ्ख्यामध्ये हालसम्म एक लाख ९२ हजार ९३५ लाई खोप लगाइएको भन्दै यहाँका खोप लगाउने उमेर समूहका ५१ प्रतिशतले मात्र खोप पाएको बताए। उनले भने, ‘भक्तपुरमा खोप लगाएकाको तथ्याङ्क हेर्दा ५१ प्रतिशतले मात्र खोप पाएका छन् तर यो तथ्याङ्कअनुसार खोप सबै भक्तपुरका स्थायी बासिन्दाले मात्रै लगाएका होइनन्, अस्थायी रुपमा बस्दै आएका बाहिरी जिल्लाका नागरिक पनि यहीँ तथ्याङ्कभित्र पर्छन्, त्यसैले स्थायी बासिन्दालाई खोप पुगेको छैन, मगाइदिन पहल गर्नुपर्यो।’

जिल्लामा अझै पनि ३५ वर्ष माथिकाले खोप लगाउन छुटेको २९ हजारभन्दा बढी रहेको र  कोरोना सङ्क्रमित सुरक्षित नबसेर लापर्वाही गरी जताततै हिँड्दा जोखिम बढेको कार्यालय प्रमुख मिजारले बताए।

प्रकाशित: १२ आश्विन २०७८ ११:०२ मंगलबार

एन्फा भक्तपुर जिल्ला स्वास्थ्य कार्यालय