स्वास्थ्य

त्रास मेटाउँदै कोभिड खोप

पछिल्लो समयमा कोभिड खोप लगाउन थालिएपछि कोभिड त्रास हट्न थालेको छ। खोपले आत्मबल बढाउने काम गरेको स्थानीय बताउँछन्। खोप नआउँदासम्म निकै अन्यौल थियो। जताततै कोरोना संक्रमणको खतरा थियो। गाउँदेखि सहरसम्म निकै त्रास थियो। अहिले कोरोनाको खोप लगाउन सुरु भएपछि स्थानीय निकै खुसी छन्।  

स्थानीय जसबहादुर बोहोराले भने, ‘पहिले खोप नै नलगाएर कोभिड जित्यौँ। अब कोरोना खोप लगाएर कोभिड विरुद्ध लड्दैछौँ। अब ढुक्क छौँ। तर स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न छाडेका छैनौँ।’ जिल्ला स्वास्थ्य सेवा कार्यालय जुम्लाका अनुसार हालसम्म २४ हजार ६ सय ४८ जनाले खोप लगाइसकेका छन्। जसमध्ये १९ हजार ८ सय ४७ जनालाई पूर्ण खोप अर्थात् दोस्रो खोप समेत लगाइसकेका छन्। जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटाले भने, ‘तत्काल १८ वर्षभन्दा माथिका ४१ हजार जुम्लाबासीलाई कोभिड विरुद्धको खोप लगाउने तयारी भइरहेको छ। यही असोज ९ गतेदेखि खोप अभियान चल्छ। ४१ हजार ६ सय ७६ जनाले तत्काल खोप पाउनेछन्।’

जिल्लाको कूल जनसंख्याको ३३ प्रतिशत नागरिकलाई खोप लगाउने सरकारी निर्देशन छ। उनले भने, ‘त्यही निर्देशनका आधारमा खोप अभियान सुरु हुनेछ। यो बीचमा पहिलो खोप लगाएकालाई दोस्रो डोज दिने र खोप नै नलगाएकालाई पहिलो डोज खोप लगाइनेछ।’

खोप अभियानमा आवश्यकताअनुसार स्वास्थ्यकर्मी, महिला स्वयम्सेविका र युवा परिचालन गर्ने तयारी भइरहेको छ। खोप लगाएपछि स्थानीय निर्धक्क भएर हिँडडुल गरिरहेका छन्। तर स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पालना गर्ने भनिएको छ। जनस्वास्थ्य प्रमुख सापकोटाले भने, ‘खोप लगाएको व्यक्तिलाई पनि कोभिड हुन सक्छ। त्यही भएर उच्च सावधानी अपनाउनै पर्छ। यो हरेक नागरिकको जिम्मेवारीभित्र पर्छ।’

यहाँका ८ वटा स्थानिय तहमा दुईचरणमा खोप लगाइने छ। तालिम प्राप्त स्वास्थ्यकर्मीसहित जुम्लामा ५ सय ४७ जना स्वयम्सेविका परिचालन हुनेछन्। प्रत्येक पालिकामा खोप केन्द्र राखिनेछ। सदरमुकाम खलंगामा बस्नेको हकमा प्रतिष्ठानलाई खोप केन्द्र तोकिने छ।

१८ वर्ष माथिका सबैले खोप लगाउने भएकोले कोही छुट्न नहुने जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ। कर्णाली प्रतिष्ठान र जिल्लाभरीका ३० स्वास्थ्य चौकीसहित ३२ खोप केन्द्र हुनेछन्। प्रत्येक पालिकाको एक स्वास्थ्य चौकीलाई व्यवस्थापन केन्द्रका रुपमा तोकिएको छ।

हाल जुम्लामा ४१ हजार ७ सय ४० डोज खोप आइपुगेको छ। खोपको उचित भण्डारण गरिएको छ। भ्याक्सिन लगाउँदैमा कोरोना नलाग्ने भन्ने छैन। तर रोग प्रतिरोधात्मक क्षमता बढाउन खोप अनिवार्य भएको चिकित्सकले बताएका छन्। 

प्रकाशित: ६ आश्विन २०७८ १३:४० बुधबार

कोभिड खोप