स्वास्थ्य

भारतीय कम्पनी युमेडिकाको औषधि आयातमा रोक

औषधि व्यवस्था विभागले भारतीय उत्पादक कम्पनी युमेडिकाको औषधि नेपाल आयातमा प्रतिबन्ध लगाएको छ। अघिल्लो साता विभागले कम्पनीको आयात अनुमतिपत्र नै खारेज गरी औषधि आयातमा प्रतिबन्ध लगाएको विभागले जनाएको छ। 

विभागका महानिर्देशक नारायण ढकालका अनुसार अनुगमनका क्रममा नेपाली बजारमा आयातित कम्पनीको एउटा औषधिमा बाहिरी लेभलअनुसार भित्री औषधि फरक पाइएपछि आयातमा प्रतिबन्ध लगाइएको हो। कम्पनीबाट उत्पादित एन्टिबायोटिक सेफ्रोमेक्सिन लेखिएको लेभलको प्याकेटभित्र सेफालोजिन औषधि राखिएको थियो।

सेफालोजिन हजार एमजीको छ भने सेफ्रामेक्सिन ७ सय ५० एमजीको छ। एउटा रोगका लागि प्रयोग गरिने सेफ्रामिक्सिनभित्र फरक रोगमा प्रयोग गरिने र तलमाथि डोजमा एन्टिबयोटिक हुनु भनेको उपचारमा फरक पर्न जाने हुनाले उपभोक्तामा असर पर्ने विभागका प्रमुख ढकालको भनाइ छ। औषधि व्यवस्था विभागले भारतीय औषधि उत्पादक कम्पनी युमेडिकाको सबै औषधि नेपाल आयातका लागि रोक लगाएको छ। यो कम्पनीबाट बजारमा आयतित भएका २६÷२७ वटा लेभलमा यस्तो त्रुटि पाइएको हो।

डेढ महिनाअघि औषधिको विषयमा गुनासो आएपछि विभागले अनुगमन सुरु गरेको थियो। कारबाहीपछि नेपालस्थिति युमेडिकाको डिलरले प्याकिङमा त्रुटि भएको प्रतिवेदन दिएपछि कारबाही गरेको विभागका महानिर्देशक ढकालको भनाइ छ। बजारमा आयतित भइसकेका अन्य औषधि पनि बिक्रीवितरण गर्न रोक्का गरिएको छ। ‘बिक्रीवितरण नगर्न पूर्वआयातकर्तालाई निर्देशन दिइसकेका छौं,’ उनले भने।  

कम्पनीले त्रुटि भने पनि यो गम्भीर प्रकारको त्रुटि भएकाले नेपालले अनुमतिपत्र नै खारेज गरेको ढकालले बताए। एउटा औषधिको लेभलभित्र अर्को औषधि राखिनु भनेको कम्पनीको गम्भीर त्रुटि हो, एन्टिबायोटिकको सट्टा एन्टिबायोटिक नै पर्न गएकाले अहिले ठूलो असर नपरे पनि उत्पादनमा भएको गम्भीर त्रुटि देखिएपछि कारबाही गर्‍यौं,’ उनले भने।

प्रकाशित: ३१ भाद्र २०७८ ००:३६ बिहीबार

औषधि व्यवस्था विभाग भारतीय उत्पादक कम्पनी युमेडि आयातमा प्रतिबन्ध