स्वास्थ्य

निपा भाइरस फैलाउने चमेरो नेपालमै

नेपाल पनि निपा भाइरस संक्रमणको उच्च जोखिममा रहेको विज्ञहरूले बताएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुर पुनका अनुसार निपा भाइरस संक्रमण गराउने प्रजातिको चमेरो नेपालमा पाइएको छ। त्यसकारण नेपाल उक्त भाइरस संक्रमणको उच्च जोखिममा परेको उनको भनाइ छ। 

उनका अनुसार नेपालको पूर्वदेखि पश्चिमसम्मको भूभागमा सो प्रजातिको चमेरो पाइन्छ। ‘काठमाडौं उपत्यकाको केशरमहलमा समेत यो प्रजातिको चमेरो प्रशस्तै देखिन्छ,’ उनले भने। निपा भाइरस चमेरोबाट बंगुर, गाईगोरु र तिनीहरूबाट मानसिमा सर्ने गर्छ। मानिसबाट मानसिमा पनि यो भाइरस फैलिने गर्छ। यो भाइरस ‘फुट ब्याट जा टेरोपस’ प्रजातिको चमेरोमा पाइन्छ। 

उक्त प्रजातिको चमेराले टोेकेको फलफूल राम्रोसँग नपखाली खाएको अवस्थामा यो भाइरस मानिसमा सर्छ। संक्रमित व्यक्तिका दिशा, पिसाब, थुक, पसिना, रगत आदिबाट समेत अन्य व्यक्तिमा यो भाइरस सर्ने गर्छ। बंगुर व्यवसायीहरू त यो संक्रमणको झनै जोखिममा हु्न्छन्।

नेपालमा निपा भाइरस संक्रमण गराउने प्रजातिको चमेरो रहेको बारे धेरै वर्षपहिले नै अनुसन्धान भइसकेको थियो। सन् २०१९ मा गरिएको अनुसन्धानअनुसार दाङ, सप्तरी, सुनसरी, मोरङ, झापा, कास्की, नवलपरासीलगायत जिल्लामा यो प्रजातिको चमेरो पाइन्छ। चमेरोबाट बंगुरमा सर्ने र यी जिल्ला बंगुर पालनको मुख्य थलो भएकाले नेपाल यो भाइरसको उच्च जोखिममा रहेको डा. पुनले बताए। 

अहिले भारतमा निपा भाइरस संक्रमितको संख्या बढिरहेको छ। ‘भारतको केरला प्रदेशमा नेपालबाट पढ्न जाने विद्यार्थीको आउजाउ बाक्लो हुन्छ, अन्य प्रदेशबाट पनि आउजाउ भइरहन्छ,’ उनले भने, ‘यसले गर्दा पनि नेपालमा जोखिम धेरै छ।’नेपाल र भारतका नागरिक नियमित रूपमा एक देशबाट अर्कोमा आवतजावत हुनु र नेपालबाट नजिकै रहेको पश्चिम बंगालको सिलिगुढीमा पहिल्यै निपा भाइरस देखिनुजस्ता कारणले नेपाल सो भाइरसको उच्च जोखिममा रहेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए।

भारतमा फैलिरहेको निपा भाइरस संक्रमणको उच्च जोखिममा नेपाल रहेको महाशाखाले जनाएको छ। देशभरका सबै स्थानीय निकायलाई सतर्कता अपनाउन निर्देशन दिइसकिएको प्रवक्ता पौडेलले बताए। ‘हामीले सोमबार नै सबै स्थानीय निकायलाई जनमानसमा सतर्कता अपनाउन र सचेतना अपनाउन निर्देशन दिइसकेका छौं,’ उनले भने।

यो प्रजातिको चमेरो भारत, मलेसिया, सिंगापुर, पोल्यान्ड, म्यान्मारलगायत देशमा पनि पाइएको छ। सन् २००१ मा नेपालसँग जोडिएको पश्चिम बंगाल राज्यको सिलिगुढीमा समेत यो भाइरस फैलिएको थियो। यो भाइरसको संक्रमण भएको व्यक्तिमा ज्वरो आउने, खोकी लाग्ने, वाकवाक लाग्ने, सास फेर्न गाह्रो हुने, जिउ दुख्नेजस्ता लक्षण देखिन्छन्।

निपा भाइरसको औषधि बनिनसकेकाले अन्य भाइरसमा जस्तै लक्षणअनुसारको उपचार गरिन्छ। तर कतिपय व्यक्तिलाई भने कोमामा पुर्‍याएर मृत्युको मुखमा समेत धकेल्ने काम यसबाट हुन्छ।यो भाइरसबाट संक्रमित भएकामध्येमा ४५ देखि ७५ प्रतिशतको मृत्यु हुने सम्भावना रहेकाले तुलनात्मक दृष्टिले यो भाइरस जोखिमपूर्ण मानिन्छ। निपा भाइरसको खास उपचार नभएको र परीक्षणको पहुँचसमेत नेपालमा पर्याप्त नभएकाले यो रोगको संक्रमण भए पनि समयमै पहिचान हुन सक्ने अवस्था छैन। 

महाशाखाका प्रमुख डा. पौडेलकाअनुसार यो रोगको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र हुन्छ। देशभरि पहुँचमा नभएकाले कतिपय बिरामीको स्वास्थ्यकर्मीले आशंकाको भरमा मात्र परीक्षण गर्नुपर्ने अवस्था छ। नेपालमा यो रोग पहिल्यै थियो या थिएन भन्ने विषयमा अनुसन्धान भएको पाइँदैन। जोखिम बढिरहेको हुनाले सबैलाई सर्तक हुन चिकित्सकको सुझाव छ।

यो भाइरसबाट बच्न फलफूल राम्रोसँग पखालेर मात्र खाने, तरकारी सकेसम्म पकाएर खाने, गाईबस्तुको गोठ र फार्म सफा राख्ने, मासु काट्दा र पकाउँदा पन्जा र मास्क प्रयोग गर्ने, पानी उमालेर मात्र पिउने, साबुनपानीले हात धुने, घरबाहिर जाँदा मास्क प्रयोग गर्ने, चमेरो तथा चराचुरुंगीले टोकेका फलफूल नखानेलगायत उपाय अपनाउन चिकित्सको सुझाएका छन्। निपा भाइरसबाट हुने संक्रमणलाई विश्वको १० प्राणघातक रोगमध्ये एक मानिन्छ।

प्रकाशित: २९ भाद्र २०७८ ०१:२५ मंगलबार

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल निपा भाइरस संक्रमणको उच्च जोखिम अनुसन्धान शाखा शेरबहादुर पुन