स्वास्थ्य

बैतडीमा बढे स्क्रब टाइफसका बिरामी

जिल्लामा स्क्रब टाइफसका बिरामीको संख्या बढ्दै गएको छ। वर्षायामको सुरुबाटै बिरामीको संख्या बढेको हो। विगतका वर्षमा फाट्टफुट्ट मात्र देखिए पनि यो वर्ष स्क्रब टाइफसका बिरामीको संख्या धेरै रहेको जिल्ला अस्पतालले जनाएको छ।

अस्पतालमा आएका बिरामीमध्ये दैनिक चारजना जतिलाई स्क्रब टाइफस देखिने गरेको अस्पतालका सूचना अधिकारी हरिश पन्तले बताए। जिल्ला अस्पतालबाट रेफर गरेका केही बिरामीहरूमा डेंगु पनि देखिएको अस्पतालले बताएको छ। केही स्क्रब टाइफसका बिरामीलाई अस्पतालमा भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था रहेको अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले बताए।

जिल्लामा भाइरल ज्वरोका बिरामीको संख्या पनि गत बढेको छ। जिल्ला अस्पतालमा मात्र दैनिक २५ भन्दा बढी भाइरल ज्वरोका बिरामीहरू उपचारका लागि पुग्ने गरेका अस्पतालले जनाएको छ। भर्ना गर्नुपर्ने अवस्थाका ज्वरोका बिरामीहरू पनि रहेका छन्।

जिल्लाका अन्य स्वास्थ्य संस्थाहरूमा पनि भाइरल ज्वरोका बिरामीको संख्या धेरै छ। वर्षायाम सुरु भएसँगै भाइरल ज्वरोका बिरामीको संख्यामा वृद्धि भएको पञ्चेश्वर गाउँपालिका–१ मा रहेको पञ्चेश्वर स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्कीले बताए। उनका अनुसार दैनिक २० जनाभन्दा बढी ज्वरोकै बिरामीहरू उपचारका लागि पुग्ने गरेका छन्। वृद्ध र बालबालिका बढी ग्रसित हुने गरेका छन्।

बर्खायाममा पानीका मुहानहरू सफा नहुँदा पानीजन्य रोगहरू देखापर्ने गरेको उनले स्वास्थ्यकर्मी बताउँछन्। यो समयमा किर्नालगायतका किराहरूले टोक्ने भएकाले स्क्रब टाइफसका बिरामीहरू पनि देखिने गरेको अस्पताल प्रमुख डा.जोशीले जानकारी दिए। 

प्रकाशित: २४ भाद्र २०७८ १२:३५ बिहीबार

स्क्रब टाइफस