स्वास्थ्य

ताप्लेजुङमा भदौ २७ गतेबाट कोरोना विरुद्धको खोप दिने तयारी

ताप्लेजुङमा भदौ २७ र २८ गते एक्स्ट्राजेनेका र भेरोसिल खोप अभियान सञ्चालन गरिने भएको छ। जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले फुङ्लिङ नगरपालिकामा बसोबास गर्ने २ हजार ९ सय ९० जनालाई एक्स्ट्राजेनेका खोप दिने निर्णय गरेको हो।

समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार १८ वर्ष पूरा भएका विद्यार्थी बैदेशिक रोजगारीमा जाने तयारीका रहेका र अन्य आवश्यक मापदण्ड पुगेका फुङ्लिङमा बसोबास गर्नेहरुलाई एक्स्ट्राजेनेका खोप दिइने छ। भारतीय कोभिशिल्डको पहिलो मात्रा लगाएका तर दोस्रो मात्रा लगाउन बाँकी रहेकालाई भने विशेष प्राथमिकताका साथ एक्स्ट्राजेनेका खोप दिइने निर्णय भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख राजकुमार पोखरेलले जानकारी दिए।

नगरपालिका क्षेत्रमा रहेका सबै खोपकेन्द्रमार्फत खोप उपलब्ध गराइने स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर दिनेश रायले बताए। यस्तै १ हजार ८८ जनालाई पुग्ने भेरोसिल खोपको २ सय डोज फक्ताङ्लुङ गाउँपालिकाको वडा नं १ सावादिन, वडा नं २ खेजेनिम र वडा नं ३ लिङ्खिमको सिँवा स्वास्थ्य चौकीलाइ पठाइने भएको छ।

यसअघि पहिलो मात्रा लगाएकालाई दोस्रा मात्रा र लगाउन छुट भएका फक्ताङ्लुङ गाउँपालिकाका १८ वर्षभन्दा माथिका नागरिकलाई पहिलो मात्रासमेत दिने गरी तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। फक्ताङ्लुङ गाउँपालिकाका अधिकाँश १८ वर्ष उमेर पूरा भएका नागरिकले खोप पाइसकेकोले तर केही लगाउन छुट भएको भए उनीहरुलाई प्राथमिकता दिएर खोप वितरण गरिने भएको छ।

जिल्ला खोप समन्वय समितिले फक्ताङ्लुङ गाउँपालिकापछि फुङ्लिङ नगरपालिकालाई कोरोना विरुद्धको पूर्ण खोपयुक्त पालिका बनाउने गरी तयारी थालेको छ। फक्ताङ्लुङ गाउँपालिकाका अधिकाँशले खोप लगाइसकेको र छुटेकाको हकमा अबका खोप अभियानमा समेटेर त्यसपछि फुङ्लिङ नगरपालिकालाई खोपयुक्त बनाउने तयारी थालिएको प्रजिअ पाण्डेले जानकारी दिए।

प्रकाशित: २४ भाद्र २०७८ ११:०५ बिहीबार

काेराेना विरुद्धको खोप प्राथमिकतामा